प्रधानमन्त्री बन्न जेन– जीहरुले दिएको दबाबलाई अस्वीकार गरेका काठमाण्डु महानगरपालिकाका मेयर बालेन साह वरिपरी राष्ट्रिय राजनीति घुम्न थालेको छ । प्रतिनिधि सभाको आसन्न निर्वाचनको समय नजिकिदै गर्दा बालेनको राजनीतिक सक्रियता ह्वात्तै बढेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का अध्यक्ष रवि लामिछानेसंग सोमबार राति संवाद गरेका बालेनले बुधबार भेटघाटलाई झन् बाक्लो बनाएका छन् । बालेनसित अनपेक्षित नेताहरुले भेट्न थालेका छन् । विभिन्न दलका नेता, बुद्धिजीवि, अभियानीलगायत जेन– जीका अगुवा नेताहरुले बालेनलाई विभिन्न स्थान र समयमा बिहीबार भेटेका छन् ।
मेयर साहलाई भेट्ने नेताहरुले छलफल सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् । जेन– जीका अगुवाहरुले रास्वपासित मिल्न बालेनलाई दबाब दिइरहेका छन् । तर उच्च स्रोतहरुका अनुसार बालेन आफ्नै नेतृत्वमा प्रतिनिधि सभाको चुनावमा सहभागी हुन चाहेका छन् । ‘लौरो चुनाव चिन्ह भएको देश विकास पार्टीको अध्यक्ष बालेन हुने सम्भावना छ ’स्रोतले भने, सो पार्टी सन्ध्या खनालको अध्यक्षतामा निर्वाचन आयोगमा दर्ता रहेको छ । लामिछाने र बालेनबीच दुई विषयमा सहमति जुट्न नसकेको बताइन्छ । ‘पार्टी र सरकार नेतृत्वको विषयमा दुवै दलका नेता सहमति नजिक पुग्न सकेका छैनन्’ स्रोतले भने, लामिछानेको नेतृत्वमा चुनावमा जान जोखिम हुन सक्ने सम्भावना छ । सहकारी सम्बन्धी मुद्दामा लामिछाने धरौटीमा रिहा भए पनि अदालतको तारेखमा रहेका छन् । त्यसले मेयर साह आफूले नै सरकार र पार्टीको नेतृत्व चाहेका छन् ।
यद्यपि जेन– जीका अगुवाहरुले दुवैलाई मिलेर चुनावमा जान निरन्तर दबाब बनाइरहेका छन् । साथी कुमार बेनको ज्वागल निवासमा मंगलबारदेखि भेटघाटमा व्यस्त मेयर बालेन शाहलाई भेट्न रास्वपा सभापति रवि लामिछाने बिहीबार दिउँसो पुगेका थिए । दुई दिनअघि कमलपोखरीमा चलेको छलफलमा उठेका विषयलाई रविले बाहिर भिन्नै तरिकाले प्रस्तुत गरिदिएको भन्दै बालेन बिच्केका थिए ।
रास्वपामा यसअघि नै पर्याप्त आकांक्षी रहेकाले ७०/३० को अनुपातमा समानुपातिक उम्मेदवार सूची तयार पार्नु पर्ने प्रस्तावमा बालेनले पर्याप्त चासो नदिएको स्रोतले जनाएका छन् । ‘रविको प्रस्तावलाई मेयर साहले प्राथमिकतामा राखेनन्’ स्रोतले भने । रास्वपाको संगठन ५ सयभन्दा बढी पालिकामा खडा भइसकेको र गत चुनावमा १२ लाख समानुपातिक भोट पाइसकेको दल भएको तर्क गर्दै रविले यसैमा मिलेर जाँदा सहज हुने गरेको तर्कमा बालेनले सहमति जनाएका छैनन् । तर उनले जेन– जी विद्रोहको केन्द्रमा आफ्नो नामबारे भएको आम छलफललाई बैठकमा सांगठनिक शक्तिका रुपमा मान्यता दिइनुपर्ने कुरा राखेको स्रोतले जनाएका छन् । ‘मैले चाहेको भए यति बेला यो बैठक नै बालुवाटारमा हुन सक्थ्यो, तर मैले प्रधानमन्त्री बन्ने सटकट रोजिन् ’स्रोतले भने, ‘आम मान्छेले चाहेको एकता गरौँ । रविको संगठनात्मक तर्कप्रति बालेनले भने, जेन– जीहरुलाई पनि मैले भेटेको छु, उनीहरुको भावना अनुसार अघि बढ्ने मोडल बनाउनुपर्छ । दलको मात्रै शक्ति हेरेर हुँदैन ।’ समानुपातिक तर्फको उम्मदेवारको बन्द सूची दलहरुले १३ र १४ गते निर्वाचन आयोगमा बुझाइ सक्नु पर्ने कार्यतालिका छ ।
बालेनले साँझ जेन– जीका प्रतिनिधिसंग भेटेका हुन् । भेटघाटको क्रममा हामी नेपालका संयोजक सुधन गुरुङ पनि सहभागी थिए । जेन– जी प्रतिनिधिहरुका अनुसार नयाँ भनिएका राजनीतिक र शक्तिहरू मिलेर जानुपर्ने सुझाव बालेनलाई दिएको छ । आफू दलीय राजनीतिमा आएको जानकारी दिँदै बालेनले जेन– जी रक्षा बमलाई सबै जेन– जीलाई एक भएर आउन आग्रह गरेका थिए ।
सामाजिक सञ्जालहरुमा सार्वजनिक भएको जानकारी अनुसार बालेनसंगको छलफलमा मध्यरातसम्म डा. भगवान कोइराला, राप्रपा नेता ज्ञानेन्द्र शाही, सरसरफाइ तथा युवा अभियन्ता केपी खनाल, जेन– जी फ्रन्टकी संयोजक रक्षा बम, अभियन्ता सागर ढकाल, पूर्वसचिव भीम उपाध्याय, पूर्व विवकेशील साझाका नेता मिलन पाण्डे, कलाकार निश्चल बस्नेत, पत्रकार ऋषि धमला, सञ्चार उद्यमी कैलाश सिरोहिया, सञ्चारकर्मी सुरजसिंह ठकुरीसहित रहेका थिए ।
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, प्रखर वक्ताको रुपमा परिचित निवर्तमान सांसद डा.अमरेश कुमार सिंह लगायतका नेताहरुले पनि बालेनसित छलफल गरेका छन् । नेपाली कांग्रेसका नेता सुनिल शर्मा लगायतका नेताहरुसित पनि मेयर बालेन साहको छलफल भएको बताइएको छ । साहले विभिन्न पक्षसितको छलफललाई घनिभूत रुपमा अगाडि बढाएका छन् ।



