२०८२ पुष ११, शुक्रबार ०७:३५

अर्थमन्त्री रामेश्वर खनाल मधेश प्रदेशको विभिन्न स्थलको एकैदिनमा अवलोकन, अनुगमन तथा भेटघाटमा व्यस्त देखिएका छन् ।

मधेश प्रदेशको राजधानी जनकपुरधाम, सिरहाको लहानसहितको विभिन्न ठाउँको अवलोकन, अनुगमन तथा भेटघाटका क्रममा राजनीतिक, आर्थिकदेखि मधेश विकाससम्मका सवालमा अर्थमन्त्री खनालले सकारात्मक देखिएका छन् ।

मधेश प्रदेशको राजधानी जनकपुरधाममा बिहीबार मधेश भवनमा आयोजित भेटघाटको क्रममा मुख्यमन्त्री कृष्णप्रसाद यादवसंग अर्थमन्त्री खनालले वर्तमान सरकार म्याण्डेटअनुसार फागुन २१ गते निर्वाचन गराउन तयार रहेको र घोषित मितिमै निर्वाचन सम्पन्न हुने दाबी गरे । सो क्रममा मुख्यमन्त्री यादव तथा मधेश प्रदेशका अर्थमन्त्री महेशप्रसाद यादवले अर्थमन्त्री खनालसंग मधेश प्रदेशलाई संघीय सरकारले दिँदै आएको विभिन्न प्रकारको अनुदान रकम बढाउनका लागि माग गरे ।

मधेश प्रदेश सरकारले अर्थमन्त्री खनाललाई मधेश प्रदेशको मानव सूचकांक कमजोर रहेकाले सोही आधारमा अनुदान रकम बढाउनका लागि माग गर्दै आग्रह गरे । सो अवसरमा प्रदेश सरकारले राजश्व कार्यालयहरूलाई यथावत् रूपमा राख्नुपर्ने र मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गर्दै आएको एमबिबिएसको कार्यक्रममा संघ सरकारले दिनुपर्ने आर्थिक अनुदान नदिएको विषयमा अर्थमन्त्री खनाललाई ध्यानाकर्षण गराएको मधेश प्रदेशका अर्थमन्त्री यादवले जानकारी दिए ।

एमबिबिएस कार्यक्रम सञ्चालनमा वर्षेनी रूपमा २० करोड रुपैयाँ रकम प्रदेश सरकारको खर्च हुँदै आएको छ । मधेश प्रदेश सरकारको आन्तरिक श्रोतलाई बढाउनका लागि संघले उठाउँदै आएको राजश्वका कतिपय क्षेत्रमा प्रदेश सरकारलाई स्वायतता दिनुपर्ने माग पनि अर्थमन्त्री खनालसमक्ष राखिएको उनले बताए ।

उक्त बैठकमा अर्थमन्त्री खनालले प्रदेश सरकारबाट प्रदेशको आर्थिक विकास तथा समृद्धिका लागि व्यक्त भएको चिन्ताप्रति संघ सरकार सकारात्मक भएको बताए । उनले प्रदेश सरकारबाट विभिन्न विषयहरूमा भएको मागप्रति सङ्घ सरकार सकारात्मक भएको र यसको सम्बोधनको प्रयास गरिने बताए । उक्त क्रममा अर्थमन्त्री खनालले जेन– जी आन्दोलनपछि गठित वर्तमान सरकार चुनाव गराउने प्रमुख दायित्व रहेकोले चाहेर पनि सोचे अनुसार अर्थतन्त्रमा सुधार हुन नसके पनि सुशासन स्थापना, भ्रष्टाचार नियन्त्रण गर्न काम गरिरहेको बताए ।

देशको अर्थतन्त्रलाई सवल बनाउन विधिको शासन, प्रणालीगत सुधार र आचरणमा परिवर्तन आवश्यक रहेकोले परिर्वतनलाई संस्थागत गर्न जेन– जी आन्दोलनमा उठेको माग सम्बोधन गर्न फागुन २१ गते हुने चुनावमा परिवर्तनकारी शक्तिको नेतृत्वमा सरकार गठन हुनुपर्ने माग गरे । मधेश भवनमा भएको भेटघाट कार्यक्रममा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरत प्रसाद साह, नेता युवराज भट्टराईलगायतका नेताहरूको उपस्थित रहेको थियो ।

त्यस्तै सिरहाको लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल परिसरमा बिहीबार नै आयोजित जग्गा हस्तान्तरण तथा सम्मान कार्यक्रममा बोल्दै अर्थमन्त्री खनालले अस्पतालको सेवा विस्तारसहित स्तरोन्नतिका लागि अहिलेको बजेट परिधिमा रहेर स्वास्थ्य मन्त्रालयको बजेटबाट केही गर्न सकिने बताए ।

उक्त कार्यक्रममा मुख्यमन्त्री यादवले मानवीय सेवाका लागि जग्गासहित अस्पताल भवन बनाएर दाता परिवारले सबैको मन जितेको बताए । उनले अस्पताललाई ट्रमा सेन्टरको रुपमा विकास गर्न सकिने बताए । उनले भने, ‘प्रदेशमा चुनौती र आवश्यकताहरुका चाङ छन्,’ उनले अघि थप्दैँ भने, ‘वर्तमान सरकारले निश्चित कार्यसूची बनाएर मधेश प्रदेशको समस्या सम्बोधनका लागि विशेष ध्यान दिन आग्रह गर्दछु ।’ अस्पतालको थप विकासका लागि विनियोजित बजेटबाट थप बजेट दिन नमिल्ने प्रावधान रहेको मन्त्री खनालले भन्दै स्वास्थ्य मन्त्रालय र मधेश प्रदेशको बजेटबाट यस अस्पतालमा ट्रमा सेन्टर सञ्चालनको लागि पहल गरिने विश्वास व्यक्त गरे ।

अर्थमन्त्री खनालले सरकारी स्वामित्वका अस्पतालहरूको स्तरोन्नति गर्न तीनै तहका सरकारको सहकार्य आवश्यक रहेको बताए । लहान नगरपालिकाले पनि अस्पतालका लागि स्रोत छुट्यायो भने संघ, प्रदेश र स्थानीय ससरकारको सहकार्यमा सुविधासम्पन्न अस्पताल बनाउन सकिने उनले बताए । उक्त कार्यक्रममा अर्थमन्त्री खनालसहित मुख्यमन्त्री यादव, प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्री जंगीलाल रायले अस्पतालका जग्गादाता पवनकुमार शारडा र मुरारीलाल मुरारकालाई दोसल्ला ओढाएर सम्मान गरे ।

Comment


Related News

Latest News

Trending News