२०८२ पुष ११, शुक्रबार ०७:४३

बंगलादेशमा हिन्दु युवा दिपुचन्द्र दासको नृशंस हत्या भएको घटनाविरुद्ध रामानन्दीय वैष्णव संघको अगुवाइमा जनकपुरधाममा बिहीबार व्यापक विरोध प्रदर्शन गरिएको छ ।

घटनालाई अमानवीय र धर्मको आडमा गरिएको मानवताविरोधी अपराधको संज्ञा दिँदै संघले शान्तिपूर्ण ¥यालीमार्फत आफ्नो आक्रोश प्रकट गरेको हो । जानकी मन्दिरको प्राङ्गणबाट सुरु भएको विरोध ¥याली जनकपुरधामका प्रमुख चोक तथा सडकहरूको परिक्रमा गर्दै शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो ।

¥यालीमा साधुसन्त, धार्मिक अगुवा, सामाजिक अभियन्ता, युवाहरू तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो । सहभागीहरूले “ अल्पसंख्यकको सुरक्षा सुनिश्चित गर”, “धर्मको नाममा हिंसा बन्द गर”, “मानवअधिकारको सम्मान गर” जस्ता नाराहरू लगाउँदै बंगलादेशमा अल्पसंख्यक हिन्दुहरूमाथि भइरहेको हिंसा तत्काल रोक्न माग गरेका थिए ।

प्रदर्शनलाई सम्बोधन गर्दै रामानन्दीय वैष्णव संघका अध्यक्ष तथा जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले दिपुचन्द्र दासको हत्या केवल एक व्यक्तिमाथिको आक्रमण नभई समग्र मानव मूल्य, धार्मिक सहअस्तित्व र अल्पसंख्यक अधिकारमाथिको खुला प्रहार भएको बताए । उनले यस्तो जघन्य घटनाले सम्पूर्ण मानव समाजलाई नै झस्काएको उल्लेख गरे ।

महन्थ दासले बंगलादेशमा पटक–पटक हिन्दु अल्पसंख्यक लक्षित हिंसाका घटनाहरू भइरहँदा पनि सम्बन्धित राज्य संयन्त्र र अन्तर्राष्ट्रिय समुदाय मौन बस्नु गम्भीर चिन्ताको विषय भएको बताए । उनका अनुसार अल्पसंख्यक समुदायमाथि भइरहेका यस्ता हिंसात्मक घटनाहरू अन्तर्राष्ट्रिय मानवअधिकारका मापदण्डहरूको ठाडो उल्लङ्घन हुन् । उनले बंगलादेश सरकारसँग दोषीहरूलाई तत्काल पहिचान गरी कडा कानुनी कारबाही गर्न र त्यहाँ बसोबास गर्ने अल्पसंख्यक हिन्दुहरूको जीवन, धर्म र सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न आग्रह गरे ।

साथै, नेपाल सरकारले पनि कूटनीतिक पहल गर्दै बंगलादेश सरकारसँग औपचारिक रूपमा कुरा उठाई अल्पसंख्यकको सुरक्षा सुनिश्चित गर्न दबाब दिनुपर्ने माग गरे । महन्थ दासले यदि बंगलादेशमा हिन्दुहरूमाथि भइरहेका आक्रमण तत्काल रोकिएनन् भने हिन्दु समाज, साधुसन्त तथा धार्मिक संघसंस्थाहरू थप सशक्त र निर्णायक आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनीसमेत दिए ।

रामानन्दीय वैष्णव संघले हत्या गरिएका दिपुचन्द्र दासप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ । संघले आगामी दिनमा पनि यस्ता अमानवीय घटनाविरुद्ध निरन्तर आवाज उठाइरहने, धार्मिक सहअस्तित्व, मानवता र मानवअधिकारको संरक्षणका लागि सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ ।

बुधवार नै उनले एक पत्रकार सम्मेलन आयोजना गरी बंगलादेशमा अल्पसंख्यक हिन्दुहरूमाथि भइरहेको हिंसा अन्तर्राष्ट्रिय मानवअधिकारको समेत गम्भीर उल्लङ्घन भएको भन्दै दोषीमाथि कडा कारबाही गर्न नेपाल सरकारले कूटनीतिक पहल लिनुपर्ने माग सहित आन्दोलनको चेतावनी दिएका थिए ।

Comment


Related News

Latest News

Trending News