भारतीय नागरिकलाई सरकारी कागजात कीर्ते गरी नेपाली नागरिकता बनाएको आरोपमा प्रहरीले इलाका प्रशासन कार्यालयका सहयोगीलाई पक्राउ गरेको छ ।
महोत्तरीको इलाका प्रशासन कार्यालय रामगोपालपुरमा कार्यरत कार्यालय सहयोगीले सरकारी कागजातको दुरुपयोग गरी भारतीय नागरिकलाई नागरिकता दिलाएको आशंकामा नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाइएको छ ।
कार्यालयको कागजात, सरकारी छाप, किर्ते दस्तखत र होलोग्रामको दुरुपयोग गरी भारतीय नागरिकलाई नेपाली नागरिकता बनाएको आरोपमा प्रहरीले कार्यालय सहयोगी कृष्ण मण्डललाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी महोतरीका डिएसपी शैलेन्द्रकुमार भट्टले जनाएको छ ।
विशेष सूचनाको आधारमा इलाका प्रशासन रामगोपालपुरका कार्यालय सहयोगी मण्डललाई पक्राउ गरी अनुसन्धान गरिरहेको डिएसपी भट्टले बताए । जिल्ला प्रशासन महोत्तरीबाट आएको जानकारी अनुसार कार्यालय सहयोगी मण्डललाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उनले बताए । मण्डल पक्राउ परेपछि अर्का कार्यालय सहयोगी फरार भएका छन् ।
इलाका प्रशासन रामगोपालपुरबाट २०७६ मा वितरण भएको नागरिकतामा त्रुटि देखिएपछि अनुसन्धान अगाडी बढाइएको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) ईन्द्रदेव यादवले बताए । ’गृह मन्त्रालयबाट २०८२ असोज ३० गते अनुसन्धान अगाडी बढाउन जानकारी आएको हो,’ प्रजिअ यादवले भने,‘म महोत्तरी आउनु अगावै यो विषयमा अनुसन्धान सुरु भएको थियो । म आएपछि नागरिकता वितरणमा त्रुटि भेटिएपछि कार्यालय सहयोगीलाई पक्राउ गरी अनुसन्धान अगाडी भइरहेको छ ।’ अनुसन्धान टुंगिएपछि मात्रै विस्तृत विवरण खुल्ने उनले बताए ।
अनुसन्धानमा संलग्न कर्मचारीहरुका अनुसार इलाका प्रशासनबाट कीर्ते गरी नागरिकता बनाएका भारतीयहरु नेपाली राहदानी लिएर विदेशमा छन् । नागरिकता बनाउँदा इलाका प्रशासनका कर्मचारीले मोटो रकम लिएको आशंका उनीमाथि रहेको छ ।



