२०८२ पुष १२, शनिबार ०७:५०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र साह पक्षबीच एक भएर अघि बढ्ने विषयमा सहमति भएको स्रोतले दाबी गरेको छ । दुवै पक्षका दुई/दुई जना रहेको चार सदस्यीय वार्ता समितिबीच छलफल भएर प्रस्तावहरूमा सहमति भए पनि अन्तिम टुंगो भने शनिबार लाग्ने स्रोतले जनाएको छ ।

रास्वपा, कुलमान घिसिङको उज्यालो नेपाल पार्टी र बालेन्द्र साह जोडिएको देश विकास पार्टीबीच सहकार्यको टुंगो लाग्ने अन्तिम तयारी भएको छ । अनौपचारिक संवादसहित सहमतिको मस्यौदा आदानप्रदान पनि भइरहेको छ । शुक्रबार राति तीन नेताहरू लामिछाने, घिसिङ र बालेन डिनर बैठक बसेका थिए । स्रोतका अनुसार शुक्रबार रातिको डिनर बैठकले सहमतिलाई अन्तिम रूप दिने भनिए पनि शनिबार नै सहमति पत्र सार्वजनिक गरिने जनाइएको छ । अहिलेसम्म राजनीतिक सहमति भइसकेको स्रोतको दाबी छ ।

स्रोतले जनाए अनुसार रास्वपाले बालेन्द्र र कुलमानलाई सहमत गराउन भागवण्डाको खाकामा पनि लचिलो हुने बताइन्छ । स्रोतका अनुसार अहिलेसम्म तीनवटा कुरामा सहमति भएको बताइन्छ । पार्टीका नाम रास्वपा नै रहनेमा सहमति भएको छ भने चुनाव चिह्न पनि घण्टी नै रहने सहमति भएको बताइएको छ । त्यसबाहेक वरीयतामा पनि अनौपचारिक सहमति जुटिसकेको छ ।

तर रास्वपाले प्रस्ताव गरेको ७० प्रतिशत आफ्नो होल्ड रहने कुरामा भने सहमति नभएको स्रोतको भनाइ छ । रास्वपाले ७० प्रतिशत आफ्नो होल्ड हुने र बाँकी ३० प्रतिशत चाहिँ बालेन र कुलमानको भागमा रहने प्रस्ताव गरेको बताइएको छ । त्यसमा उनीहरूलाई कति प्रतिशत हुन भन्ने प्रस्ट छैन, तर २० प्रतिशत कुलमानको भागमा पर्ने स्रोतले जनाएको छ ।

संगठनको पहुँच र जनसम्पर्कमा बालेनको कमजोरी रहेका कारण उनलाई पार्टीभित्र ठूलो होल्ड हुन दिने पक्षमा रास्वपाभित्र मतभेद छ । विशेषगरी रास्वपाभित्र बालेन आउने र पार्टीमा विशेष योगदान गर्ने सम्भावना कम रहेको विश्लेषण छ । बालेनले पार्टी सञ्चालनमा विशेष योगदान गर्नेभन्दा पनि मास अपिलसम्म गर्न सक्ने सम्भावना रहेको भन्दै रास्वपाभित्र टिकाटिप्पणी हुने गेको छ ।

रास्वपाले चुनावमा भावी प्रधानमन्त्रीको नाम नै लिएर जाने सम्भावना बढी छ । यसका लागि रवि, बालेन र कुलमानकै नाममा अघि सार्ने योजना रहेको छ । तथापि रवि लामिछानेविरुद्ध सहकारी ठगी मुद्दा कायम रहेका कारण निर्वाचित भए पनि सांसदको भूमिकामा आउन समस्या हुन सक्ने अनुमान छ । यद्यपि उनीहरूले कुलमानलाई प्रधानमन्त्रीको रूपमा अघि सार्ने सम्भावना पनि उत्तिकै छ ।

Comment


Related News

Latest News

Trending News