२०८२ पुष १२, शनिबार ०७:५६

युनाइटेड अरब इमिरेट्स (यूएई) मा अध्ययन गर्न जाने विद्यार्थी नेपालका कन्सल्टेन्सीबाटै ठगिदैँ आएको खुलासा भएको छ । तर यसमाथि सरकारले अहिलेसम्म अनुसन्धानकै नाममा बेवास्ता गरिरहेको पीडित विद्यार्थीहरुको भनाइ छ ।

‘स्टडी इन दुबई/यूएई’ भन्दै सामाजिक सञ्जालमा विज्ञापन गर्ने कन्सल्टेन्सीहरूबाट नै ठगीमा पर्दै आएका छन् । यूएईका विदेशी विश्वविद्यालयका नाममा विद्यार्थीबाट २० लाख रुपैयाँसम्म उठाउने गरेको पाइएको छ । यूएई पुगेपछि शुरुमा भाडाको घरमा पठनपाठन गराउने र पछि विद्यार्थीलाई भर्चुअल ट्रेनिङ सेन्टरका नाममा भर्चुअल कक्षा लिने गरेको थियो ।

दुबईमा ठगीमा परेर नेपाल फर्किएका महोत्तरीका विश्वजित कुमार यादवले ‘स्क्यान द स्क्यामर्स’ अभियान नै चलाएका थिए । ठगीमा परेका विद्यार्थी यादवको अभियानपछि धेरै विद्यार्थीहरू आफू ठगीमा परेको भन्दै सो अभियानमा जोडिन पुगेका छन् । यादव विद्यावारिधि (पीएचडी) अध्ययन गर्न दुबई पुगेका थिए । त्यहाँ एजुकेशन स्क्याममा परेका थिए ।

पीएचडी अध्ययन गराउने भनेको संस्था नै भाडाका चार कोठामा सीमित रहेको पाइएको थियो । त्यसपछि विद्यार्थी यादवले उक्त विषयको खोजी गरे । उनले संस्था दर्ता, यूकेमा रहेको दर्ता, यूएईको शिक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाली दूतावास, नेपालको शिक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय लगायत निकायमा इमेल पठाए ।

निरन्रतको प्रयासपछि यादवले उक्त विषय यूएईको राजपरिवारसम्म पु¥याए । त्यसपछि कानुन व्यवसायीमार्फत यादवले क्षतिपूर्तिका लागि उजुरी दिए । आफू नेपालमा ऋण निकालेर आएको तथा जग्गा, गाडीसमेत बेचेर आएको भन्दै २ करोड रुपैयाँ क्षतिपूर्ति मागसहित उजुरी दिएका थिए । तर पछि उनले २० हजार दिराम कलेजलाई भुक्तानीको शुल्क र ५ हजार दिराम अतिरिक्त गरी २५ हजार दिराम क्षतिपूर्ति पाएका थिए ।

रकम पाउने बेला यादवलाई ‘उक्त विषयमा बाहिर कहीँ कतै गएर बोल्दिनँ, यो विषय एकदमै गोप्य राख्छु’ भनेर कागजसमेत गराइएको थियो । यूएईमा अध्ययनका लागि जाने नेपाली विद्यार्थी ठगीमा परेको विषय बाहिरिएको लामो समय भए पनि अहिलेसम्म सरकारले यस विषयमा अनुसन्धान जारी राखेको जनाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले छानबिन गर्दै आएको छ । विश्वविद्यालय भन्दै यूएईका ‘ग्रिन जोन’ मा रहेका शिक्षालयहरूमा डिग्रीको सर्टिफिकेट दिने गरेको विषयमा उजुरी परेपछि दुवै निकायले छानबिन गर्दै आएका छन् । यूएईको ‘फ्रि जोन’ मा इन्स्टिच्युटका नाममा दर्ता संस्थाहरूले विश्वविद्यालय भन्दै नेपाली विद्यार्थी अध्ययनका लागि लगेर ठग्ने गरेको भन्दै विद्यार्थीले उजुरी दिएका थिए ।

शिक्षा मन्त्रालय, प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालय, सीआईबीलगायतका विभिन्न निकायमा विद्यार्थीले ठगिएको भन्दै उजुरी दिएका थिए । ती उजुरीमा छानबिन गरिरहेको सरोकारवाला निकायले जनाएको छ । यस विषयमा शिक्षा मन्त्रालय र सीआईबीले अनुसन्धान गरिरहेको जनाएको छ । परराष्ट्र मन्त्रालय अन्तर्गत कन्सुलर सेवा विभागले अनलाइन मार्फत ठगीमा परेका १ सय ८३ जनाले निवेदन दिएका छन् । उक्त उजुरीमाथि शिक्षा मन्त्रालय र सीआईबीले अनुसन्धान गरिरहेको छ ।

शिक्षा मन्त्रालय अन्तर्गतको उच्च शिक्षा महाशाखा प्रमुख सहसचिव श्रीप्रसाद भट्टराईले अनुसन्धान जारी जानकारी दिए । उजुरीमाथि प्रारम्भिक चरणको अनुसन्धान अघि बढाएको सीआईबीले जनाएको छ । सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले प्रारम्भिक चरणको अनुसन्धान भइरहेको जानकारी दिए । अनुसन्धान भइ नै रहेको छ, अनुसन्धान सकिएपछि निष्कर्षमा पुगिने सीआईबीले जनाएको छ ।

नेपालका शैक्षिक कन्सल्टेन्सीहरूले यूएईका फ्रि जोनमा स्थापित तथा सञ्चालित विभिन्न विश्वविद्यालय, कलेज तथा व्यावसायिक तालिम केन्द्रमा नेपाली विद्यार्थी पठाउँदै आएका छन् । सो शैक्षिक संस्थामध्ये कतिपय मापदण्ड विपरीत सञ्चालनमा रहेको, विभिन्न विदेशी विश्वविद्यालयसंग आबद्ध भएको भनिए पनि त्यस्तो नपाइएको कलेज तथा केन्द्रहरूको आफ्नै भवन नभएको, केही महिनामात्र भाडामा लिएको अपार्टमेन्टमा भौतिक कक्षा सञ्चालन गरी आएपछि अनलाइन कक्षा हुने गरेको, प्रतिवद्धता अनुरूप सेवा सुविधा उपलब्ध नभएको जस्ता गुनासा विद्यार्थीबाट आएका थिए ।

त्यसरी पीडित विद्यार्थीलाई अनलाइन मार्फत उजुरी दिन आग्रह गरेको थियो । कतिपय विद्यार्थी बीचमै पढाइ छाडेर नेपाल फर्किसकेका थिए भने कतिपय अझै पनि यूएईमा बस्दै आएका छन् । तर विद्यार्थीहरुले भने अहिलेसम्म सरकारले कुनै किसिमको कारबाही गर्न नसकेको आरोप लगाएका छन् । पीडित विद्यार्थीले सरकारले गरिरहेको अनुसन्धानमा ढिलाइ भइरहेको गुनासो गर्न थालेका छन् । सरकारले अनुसन्धान थालेको दुई महिना बितिसक्दा समेत निष्कर्षमा पुग्न नसकेको पीडित विद्यार्थी यादवको भनाइ छ ।

सुरुवाती चरणमा अनुसन्धान गरेजस्तो देखिए पनि बेवास्ता गर्न थालेका कारण आन्दोलन गर्ने पीडित विद्यार्थी यादवले चेतावनी दिए । अध्ययनका नाममा ठगिनेमा २ हजारभन्दा बढी नेपाली विद्यार्थी रहेको अनुमान छ । तर सरकारले लिएको अनलाइनमार्फत उजुरीमा भने १ सय ८३ जनाले मात्रै निवेदन दिएका छन् ।

सरकारले गर्ने अनुसन्धानप्रति पीडित विद्यार्थीको विश्वास नभएकाले अन्य विद्यार्थीले निवेदन नदिएको उनको दाबी छ । अनुसन्धान थालेको दुई महिनासम्म पनि कुनै निष्कर्षमा नपुग्नु राज्यको गैरजिम्मेवारीपन भएको उनले आरोप लगाए ।

Comment


Related News

Latest News

Trending News