बढदै गएको शितलहर र चिसोको दृष्टिगत गर्दै स्वास्थ्य निर्देशनालय मधेश प्रदेशले सबै तहलाई जिम्मेवार र तत्पर हुन आवश्यक रहेको ठहर गरेका छन् ।
शुक्रवार सरोकारवालाहरुसँग निर्देशनालयले चिसो लहरका कारण उत्पन्न स्वास्थ्य जोखिमहरूबारे साझा बुझाइ बनाउने र समन्वित रूपमा अगाडि बढ्ने उद्देश्यसहित शुक्रवार गरेको भर्चुवल बैठकमा चिसो लहरले विशेषगरी जोखिम समूहमा गम्भीर असर पारिरहेको सन्दर्भमा हामी सबै तहबाट जिम्मेवार र तत्पर हुन आवश्यक रहेको ठहर गरेका छन् ।
वर्तमान चिसो लहरको प्रभावलाई न्यूनिकरण गर्न जिल्ला, प्रदेश र संघीय तहबीच प्रभावकारी समन्वय, समयमै सूचना आदान–प्रदान र द्रुत निर्णय अत्यन्त आवश्यक रहेको बैठकबाट प्राप्त सुझाव र निर्देशनका आधारमा हामी स्पष्ट कार्ययोजनासहित अगाडि बढाउने निर्देशनालयका प्रमुख सरोजकुमार न्यौपानेले बताए ।
उनका अनुसार जिल्ला तहले स्वास्थ्य संस्थाहरूलाई चिसो लहरसम्बन्धी केस व्यवस्थापनका लागि तयारी अवस्थामा राख्ने, जोखिम समूह पहिचान गरी लक्षित सचेतना कार्यक्रम सञ्चालन गर्ने, चिसो लहरसम्बन्धी बिरामी, मृत्यु तथा असामान्य घटनाको नियमित रिपोर्टिङ गर्ने, स्थानीय तहसँग समन्वय गरी न्यानो कपडा, ओढ्ने– बिछ्याउने तथा अस्थायी आश्रयको व्यवस्था गर्न सहजीकरण गर्ने सुझाएको छ ।
यस्तै प्रदेश तहले जिल्लाबाट प्राप्त अवस्था र मागहरूको विश्लेषण गरी आवश्यक स्रोत व्यवस्थापन गर्ने, औषधि, आपतकालीन सामग्री तथा प्राविधिक सहयोगको समन्वय गर्ने, जोखिम जिल्लाहरूमा विशेष निगरानी सुदृढ गर्ने, संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गरी नीति, निर्देशन तथा आवश्यक सहयोग सुनिश्चित गर्ने लगायतका सुझावहरु समेत बैठक मार्फत आएको उनले भने ।
हाल बढेको अत्यधिक शितलहर र चिसोको लहरबाट विशेष गरी जेष्ठ नागरिक, बालबालिका, गर्भवती महिला, दीर्घरोगी, गरिब तथा खुला स्थानमा बसोबास गर्ने समुदायमा गम्भीर असर पार्ने गर्दछ । तिनीहरुमा श्वासप्रश्वास सम्बन्धी रोगहरू (निमोनिया, दमको समस्या बढ्नु), हृदयघात र उच्च रक्तचापको जोखिम बढ्नु, हाइपोथर्मिया, बालबालिकामा झाडापखाला, रुघाखोकी तथा संक्रमणको जोखिम, वृद्धवृद्धामा मृत्युदर बढ्नु, स्वास्थ्य सेवा पहुँच कमजोर भएका क्षेत्रमा समयमै उपचार नपाउँदा जटिलता बढने लगायतका समस्या देखिन सक्छ ।



