रौतहटको कटहरिया नगरपालिका–९ मा रहेको ज्योती डिस्टिलरीमा शनिबार बिहान अचानक बोइलर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना कामदार घाइते भएका छन्। विस्फोट यति शक्तिशाली थियो कि डिस्टिलरी परिसरमा ठूलो क्षति पुगेको प्रारम्भिक विवरण आएको छ।
इलाका प्रहरी कार्यालय कटहरियाका सई धर्मेन्द्र पौडेलका अनुसार दुर्घटनामा परी कटहरिया–९ बलुवा गाउँका अन्दाजी ३५–४० वर्षका लक्ष्मण यादवको घटनास्थलमै मृत्यु भएको हो। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र उनीहरूलाई प्राथमिक उपचारपछि एम्बुलेन्समार्फत वीरगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ।
घाइतेहरूको पहिचान र विस्फोटको वास्तविक कारणबारे अनुसन्धान जारी रहेको छ। प्रारम्भिक चरणमा दुर्घटनामा घाइते तथा मृतकको संख्या बढ्न सक्ने आशंका समेत गरिएको छ।
दुर्घटनापछि स्थानीय बासिन्दामा भय र त्रास फैलिएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षाकर्मीले डिस्टिलरी क्षेत्रलाई नियन्त्रणमा लिई सुरक्षा व्यवस्था कडा बनाएका छन्।
जिल्ला प्रहरी प्रमुख एसपी रबिन कार्कीले घटनाको पुष्टि गर्दै विस्तृत अनुसन्धानका लागि थप प्रहरी टोली परिचालन गरिएको जानकारी दिए। यसैबीच स्थानीयवासीहरूले डिस्टिलरी सञ्चालकको लापरवाहीका कारण यस्तो गम्भीर दुर्घटना भएको आरोप लगाएका छन्। घटनासम्बन्धी थप विवरण आउन बाँकी छ।


