सीमावर्ती क्षेत्र बाराको सिम्रौनगढ नगरपालिका–३ बडपुरवाबाट प्रहरीले ६४ किलो ४५० ग्राम लागुऔषध गाँजासहित दुई जना भरियालाई रंगेहात पक्राउ गरेको हो।
ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रमुख प्रहरी निरीक्षक कृष्णदेव साहको कमाण्डमा खटिएको गस्ती टोलीले शुक्रबार राति करिब १०ः३० बजे विशेष सूचनाको आधारमा उक्त कारबाही गरेको जनाएको छ।
गंगानगरबाट नयकाटोला तर्फ गाँजा ओसारपोसार भइरहेको सूचनापछि सक्रिय बनेको प्रहरी टोलीले संदिग्ध व्यक्तिहरूलाई पछ्याएको थियो। प्रहरी देख्नासाथ पिठ्युँमा बोकेको पोको फालेर फरार हुन खोजेपछि प्रहरीले लखेटी दुई जनालाई नियन्त्रणमा लिन सफल भएको हो।
गाँजासहित पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–३ नयकाटोला निवासी ४० वर्षीय राजकिशोर हजरा र भारत, बिहार राज्यको मोतिहारी जिल्ला अन्तर्गत बनकटवा थाना अगरवा निवासी अन्दाजी ५० वर्षीय सुरेश राय रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ भने गाँजाको मुख्य साहु तथा संजालबारे पनि गहिरो सोधपुछ जारी छ।
स्थानीयवासीहरूले भने इन्स्पेक्टर कृष्णदेव साह सिम्रौनगढ प्रहरी प्रमुखको रूपमा आएयता लागुऔषध नियन्त्रणमा उल्लेखनीय कडाइ र प्रभावकारी काम देखिन थालेको प्रतिक्रिया दिएका छन्।


