आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरु तीव्र तयारीमा जुटेका छन् । नयाँ दलसहित पुराना राजनीतिक दलले निर्वाचनमा सहभागी हुन उम्मेदवार छनोटको प्रक्रियालाई तीव्रता दिएको छ ।
प्रतिनिधिसभाका लागि प्रत्यक्ष तर्फबाट उम्मेदवार चयनका लागि राजनीतिक दलले जिल्लाको निर्वाचन क्षेत्रबाट उम्मेदवार छनोटमा व्यस्त छन् । चार वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सप्तरीमा मधेश केन्द्रित तीन राजनीतिक दलले आ–आफ्नो अध्यक्षको नाम एउटै निर्वाचन क्षेत्रबाट सिफारिस गरेको छ ।
राष्ट्रिय मुक्ति पार्टी नेपालले पार्टी अध्यक्ष राजेन्द्र महतोसहित चार जनाको नाम सप्तरी क्षेत्र नं. २ बाट सिफारिस गरेको छ । महतोको पहिलो नम्बर र महासचिव केशव झा, संविधानसभा सदस्य महेश यादव र रीना झाको क्रमशः रुपमा नाम सिफारिस गरेको छ । त्यस्तै गत प्रतिनिधिसभाको निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष सीके राउत निर्वाचित भएका थिए ।
यसै क्षेत्रबाट अध्यक्ष राउतको नाम एकल रुपमा सफारिस गरिएको छ भने जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको नाम पनि सोही क्षेत्रबाट सिफारिस गरिएको छ । ज्नमत पार्टीका जिल्ला इन्चार्ज रामगमन साहका अनुसार डा. राउतको जिल्लाका ४ वटै निर्वाचन क्षेत्रबाट उम्मेदवारीका लागि नाम सिफारिस भएको बताए ।
जसपा नेपालको पार्टी अध्यक्ष यादवको सप्तरी– २ बाट एकल नाम सिफारिस गरेको छ । सप्तरी, अध्यक्ष राउत र अध्यक्ष यादवको गृह जिल्ला हो । राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो भने सर्लाहीका छन् । मधेश केन्द्रित दलका नेता तथा कार्यकर्ताले भने तीनैजना नेतालाई एकआपसमा प्रतिस्पर्धा नगरी जिल्लाकै अर्को र फरक फरक निर्वाचन क्षेत्रबाट चुनाव लड्न दबाब दिन थालेका छन् । यता फागुन २१ मा हुने नर्वाचनका लागि अन्य दलहरुले पनि बैठक बसेर उम्मेदवारी टुंगो लगाउन जुटेका छन् ।


