आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवार छनोटमा राजनीतिक दलहरु आन्तरिक तयारीमा जुटेका छन् । पुरानादेखि नयाँ राजनीतिक दलहरु समुनापितकतर्फका ११० जना उम्मेदवार चयनका लागि जुटेका छन् । तर समानुपातिक उम्मेदवार छनोटदेखि चयन प्रक्रियामा विगत झैँ यसपटक पनि राजनीतिक दलले मधेशीलाई कोटामै सीमित पार्ने सम्भावना बढी देखिएको टिप्पणी हुन थालेको छ ।
विगतमा ठूला भनिएका दलले मधेशका दिग्गज नेतालाई पनि समानुपातिकतर्फको खुलामा नभइ मधेशी कोटामै सीमित गरेको थियो । अहिले नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), जसपा नेपाल, जसपा, जनमत पार्टी, लोसपा नेपाल, रास्वपा, प्रलोपालगायतका राजनीतिक दलहरु समानुपातिकतर्फको उम्मेदवार छनोट तथा चयन प्रक्रियामा व्यस्त देखिएका छन् । सोमबारसम्ममा राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाउने समयसीमा तोकिएको छ ।
जस अनुसार नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आसन्न निर्वाचनका लागि समानुपातिक तर्फका ११० उम्मेदवार चयनको मापदण्ड तयार पार्ने प्रक्रिया प्रारम्भ गरेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा शनिबार पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले अनुशासनको कारबाहीमा परेकाहरुलाई माफी दिने र पार्टी परित्याग गरेकाहरूलाई घर फर्कन आह्वान गर्ने लगायतका निर्णयहरू पनि गरिएको छ ।
केन्द्रीय कार्यसम्पादन समितिको अर्को बैठक आइतबार पुनः बैठक बसेर समानुपातिकतर्फको उम्मेदवारीको बन्दसूचीको अन्तिम रुपमा दिइने भएको छ । त्यस्तै नेकपा एमालेले पनि आइतबार पार्टी केन्द्रीय समितिको बैठक बसेर समानुपातिकतर्फको उम्मेदवारी चयन गर्ने जनाएको छ । त्यसैगरी नेपाली कम्युनिष्ट पार्टी, जसपा नेपाल, जसपा, जनमत पार्टी, रास्वपा, लोसपा नेपाललगायतका दलहरुसमेत पार्टीको बैठक बसेर समानुपातिकतर्फको नामावली चयनका लागि आन्तरिक छलफल गर्ने तयारीमा जुटेका छन् ।
विगतमा कांग्रेसको तर्फबाट मधेशका दिग्गज नेता रहेका विमलेन्द्र निधिलाई समेत समानुपातिकतर्फको खुलाबाट नभइ मधेशी कोटाबाट प्रतिनिधिसभामा चयन गरिएको थियो भने मधेशी महिला कोटाबाट प्रतिनिधिसभा सदस्यमा नगिना यादव, चन्दा चौधरीलाई समेत चयन गरिएको थियो ।
त्यस्तै नेकपा एमालेले मधेशी महिलातर्फको कोटामा पलटीदेवी यादव, फुलकुमारी देवी, विना देवी शर्मा, प्रतीक्षा तिवारी मुखिया र मधेशी कोटाबाट जयचन्द्रपसाद पटेललाई प्रतिनिधिसभा सदस्यमा चयन गरिएको थियो । तर समानुपातिकतर्फको खुलाबाट एमालेले एकजनालाई पनि चयन गरिएको थिएन । त्यसैगरी मधेशी कोटातर्फबाट मीना यादव र उमरावती देवी यादव प्रतिनिधिसभा सदस्यमा चयन गरेको थियो । त्यस्तै रास्वपाले मधेशी कोटाबाट लक्ष्मी तिवारी र मनिष झालाई प्रतिनिधिसभा सदस्य बने ।
०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनबाट समानुपातिकतर्फ कुल खसेको सदर मत १ करोड ५ लाख ६० हजार ८२ मध्ये सात वटा राजनीतिक दलले मात्रै ३ प्रतिशत थ्रेसहोल्ड पार गरेका थिए । प्रत्यक्ष र समानुपातिक गरी कांग्रेस ८९ सिटसहित पहिलो दल बनेको थियो भने प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ सिट पायो ।
एमालेले प्रत्यक्षतर्फमा ४४ र समानुपातिकमा ३४ गरी ७८ सिट ल्याएर दोस्रो दल बनेको थियो । त्यस्तै प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फमा १४ सिटसहित नेकपा माओवादी केन्द्र तेस्रो ठूलो दल बनेको थियो । नवगठित राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्षतर्फ सात र समानुपातिकतर्फमा १३ वटा गरी २० सिटसहित चौथो ठूलो दल बनेको थियो ।
त्यस्तै प्रत्यक्ष र समानुपातिकतर्फमा समान सात÷सात सिट जितेको राप्रपा १४ सिटसहित पाँचौँ, प्रत्यक्षमा सात र समानुपातिकतर्फमा पाँच सिट पाएको जसपा नेपाल १२ सिटसहित छैटौँ तथा थ्रेसहोल्ड कटाउन नसकेर समानुपातिकका सिट गुमाएको नेकपा एकीकृत समाजवादीले प्रत्यक्षमा १० सिट प्राप्त गरेको थियो ।
त्यस्तै जनमत पार्टीले प्रत्यक्षतर्फ १ र समानुपातिकतर्फ पाँच गरी ६, थ्रेसहोल्ड कटाउन नसकेका दलहरू लोसपा नेपालले प्रत्यक्षतर्फ चार, नागरिक उन्मुक्ति पार्टीले तीन र राष्ट्रिय जनमोर्चाले १ र नेमकिपाले १ सिट जितेको थियो । स्वतन्त्र उम्मेदवारी दिएका ५ जना प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए ।


