धनुषाको शहीदनगर नगरपालिकाका स्थानीय युवाहरु पालिकामा भ्रष्टाचार नियन्त्रण, सुशासन र पारदर्शिताको माग गर्दै संगठित आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
‘हामी युवा’ नामक संस्था गठन गरी युवाहरूले नगरपालिकामा देखिएको बेथिति र अनियमितताविरुद्ध अभियान चलाउँदै पुष २० गतेदेखि चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन । शनिबार जनकपुरधाममा एक पत्रकार सम्मेलन आयोजना गरी युवाहरूले लामो समयदेखि उठाउँदै आएको माग नगरपालिकाले बेवास्ता गरेपछि बाध्य भएर आन्दोलनको बाटो रोज्नुपरेको बताएका छन् ।
उनीहरूका अनुसार शिक्षा, स्वास्थ्य, खेलकुद तथा समग्र नगर विकाससँग सम्बन्धित विषय समेटेर यसअघि नै नगरप्रमुख समक्ष २७ बुँदे माग प्रस्तुत गरिए पनि हालसम्म कुनै ठोस पहल भएको छैन । युवाहरूले २०८२ साल कार्तिक २३ गते नगरप्रमुखलाई ध्यानाकर्षण पत्र बुझाइएको थियो । उक्त पत्रमार्फत नगरपालिकाको प्रशासनिक पारदर्शिता, आर्थिक अनुशासन र सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न सुझाव र माग राखिएको थियो ।
तर, नगरप्रमुखले युवाहरूको मागलाई ‘हावादारी’ भन्दै गम्भीर रूपमा नलिएको आरोप उनीहरूले लगाएका छन् । ‘हामीले उठाएका माग व्यक्तिगत स्वार्थका लागि होइनन्, नगरको सुशासन र नागरिकको अधिकार सुनिश्चित गर्नका लागि हुन्,’ युवाहरूका तर्फबाट अरुण यादवले भने । उनले नगरपालिकाले जनताको करबाट आउने बजेट र निर्णयहरू लुकाएर राख्न खोज्दा शंका बढेको भन्दै अब दबाबमूलक कार्यक्रम अपरिहार्य भएको बताए । नगरपालिकाको रेडबुक सार्वजनिक गर्नुपर्ने, नगर कार्यपालिकाको बैठकका निर्णयहरू नियमित रूपमा सार्वजनिक गर्नुपर्ने, अस्थायी, करार तथा ज्यालादारीमा कार्यरत सम्पूर्ण कर्मचारीको विवरण नगरपालिकाको वेबसाइटमा राखिनुपर्ने । प्रत्येक वडामा नियमित सरसफाइको व्यवस्था गर्नुपर्ने, नगरभित्र रहेका शिक्षक दरबन्दी, विद्यार्थी संख्या लगायतका शैक्षिक तथ्यांक सार्वजनिक गर्नुपर्ने र सबै वडामा खेलकुद मैदान निर्माण गर्नुपर्ने लगायतका माग युवाहरुले माग गरेका छन् ।


