उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी(जसपा) नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा ) नेपाल बीच एकता गर्ने सहमति भएको छ ।
सहमति पत्रमा जसपा नेपालका अध्यक्ष यादव र लोसपा नेपालका अध्यक्ष ठाकुरले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् । काठमाण्डुमा आइतबार राति जसपा नेपाल र लोसपा नेपाल बीच एकता गर्ने सहमति भएको छ ।
जसपा नेपालबाट नै अलग भएर ठाकुरले लोसपा नेपाल गठन गरेका थिए । वर्तमान राजनीतिक परिस्थितिको मूल्यांकन र विश्लेषण गरेर एकता गरिएको निर्णयमा बताइएको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई संस्थागत गर्दै संघीयता, पहिचान, समानुपातिक समावेशिता, सामाजिक न्याय लगायतको अग्रगामी परिवर्तनका मुद्दाहरुलाई मजबुत गर्दै न्यायपूर्ण समाज निर्माण गर्ने आवश्यकतालाई आत्मसात गरी एकीकरणको निर्णय भएको बताइन्छ ।
दुवै पार्टीका पदाधिकारीहरुको काठमाण्डुमा आइतबार बसेको संयुक्त बैठकबाट देशको वर्तमान राजनीतिक परिस्थितिको मूल्यांकन तथा विश्लेषण गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई संस्थागत गर्दै संघीयता, पहिचान, समानुपातिक समावेशिता, सामाजिक न्यायलगायतको अग्रगामी परिवर्तनका मुद्दाहरुलाई मजबुत गर्दै न्यायपूर्ण समाज निर्माण गर्ने आवश्यकतालाई आत्मसात गरी जसपा, नेपाल र लोसपा नेपाल पार्टी एकीकरण गर्ने निर्णय गरिएको जारी गरिएको सहमति पत्रमा उल्लेख छ ।
पार्टी विभाजन अघि समाजवादी पार्टी रहेको थियो । तर दुबै शीर्ष नेताबीच सैद्धान्तिक मतैक्यता नहुँदा पार्टी अलग भएपछि महन्थ ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र यादव नेतृत्वमा जनता समाजवादी पार्टी नेपाल गठन गरिएको थियो । सहमति अनुसार दुबै पार्टीको नाम जसपा नेपाल नै रहने छ भने कार्यकारी अधिकारसहितको अध्यक्षमा यादव नै रहने छन् भने सम्मानित नेताको रुपमा ठाकुर रहने स्रोतले बताएको छ । सम्भवतः सोमबार पार्टीको आधिकारिक नाम र पदाधिकारीसहित केन्द्रीय समितिसमेत घोषणा गरिने जनाइएको छ ।
जसपा नेपाल र लोसपा नेपालबीचको एकीकरणले मुर्तरुप पाएपछि मधेश प्रदेशको राजनीतिमा व्यापक उथलपुथल हुने भएको सम्भावना देखिन्छ । जसपा नेपाल र लोसपा नेपालको एकीकरणपछि मधेश प्रदेशमा नेकपा एमालेभन्दा पनि ठूलो दलको रुपमा उदाउने छन् । एमालेको २५ सांसदमध्ये एकजना निलम्बनमा परेपछि २४ जना सांसद छन् भने कांग्रेसको २२, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी गरी नेकपाको १६, जनमत पार्टीको १३ लगायतका सांसदहरु रहेका छन् ।
यसरी मधेश प्रदेशमा अहिलेको सत्ता समीकरणमा समेत प्रतिकूल असर पर्ने सम्भावना बढेको राजनीतिज्ञहरु बताउन थालेका छन् । भदौ २३–२४ गते भएको जेन–जी आन्दोलनपछि नेकपा माओवादी केन्द्र र नेकपा एसबीच भएको एकीकरण पछि मुलुकमा तीव्ररुपमा राजनीतिक परिवर्तन भएको छ । सोही अनुसार जेन– जी आन्दोलनको आधारमा रास्वपा र काठमाण्डुका मेयर बालेन साहबीच सहमति भएपछि प्रतिनिधिसभालाई लिएर विभिन्न खाले टिकाटिप्पणी हुन थालेको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनलाई लिएर आफ् नो अस्तित्व जोगाउनका लागि भए पनि राजनीतिक दलहरु एकता, एकीकरण तथा सहकार्यतर्फ बढी जोड घटाउमा लागेको छन् । तर यस एकीकरण तथा सहकार्यलाई जनताले कसरी हेरिरहेको छ भन्ने कुरा निर्वाचन पछि नै थाहा हुने राजनीतिक विश्लेषलकहरुले टिप्पणी गर्न थालेका छन् ।


