२०८२ पुष १४, सोमबार ०८:२८

रौतहटमा खोटा सम्बन्धी कसुर तथा लिखत ९किर्ते०, ठगीलगायतका मुद्दामा संलग्न पाँच जना प्रतिवादीलाई अदालतको आदेशअनुसार पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

प्रहरी प्रतिवेदनअनुसार भारतको बिहार राज्य, पूर्वी चम्पारण जिल्ला मोतिहारी कुदवा चैनपुर–२ का २३ वर्षीय जयप्रकाश कुमार, रौतहटको बौधीमाई नगरपालिका–२ ईनर्वा घर भई हाल देवाही गोनाही नगरपालिका–४ बस्दै आएका २९ वर्षीय गेनालाल राउत पटेल तथा २० वर्षीय अजय पटेललाई खोटा सम्बन्धी कसुर मुद्दामा संलग्न रहेको आरोपमा गत मंसिर १६ गते अपरान्ह ४ बजेतिर ईशनाथ नगरपालिका–४ लतमरीबाट पक्राउ गरिएको थियो।

उक्त मुद्दाको अनुसन्धान पूरा गरी प्रतिवादीहरूलाई जिल्ला सरकारी वकिल कार्यालयमार्फत रौतहट जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आइतबारको आदेशअनुसार जयप्रकाश कुमार, गेनालाल राउत पटेल र अजय पटेललाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी रबिन कार्कीले बताएका छन्।

त्यस्तै, काठमाडौँ महानगरपालिका–३१ का केशव प्रसाद पौड्याल समेतको जाहेरीका आधारमा दर्ता भएको अर्को मुद्दामा कटहरिया नगरपालिका–१ का ४२ वर्षीय रामपुकार महतो कोइरी र मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ का ५२ वर्षीय राधाकृष्ण उपाध्यायलाई पनि पक्राउ गरी कारागार चलान गरिएको छ।

प्रहरीका अनुसार प्रतिवादीहरूले कटहरिया नगरपालिका–१ (क) स्थित २४ कित्ताको ९ बिघाहा १८ कठ्ठा १५ धुर जग्गासँग सम्बन्धित रौतहट जिल्ला अदालतको फैसला तथा पत्र किर्ते खडा गरी सोही आधारमा योजनाबद्ध रूपमा गैरकानुनी ढंगले जग्गा आफ्नो नाममा दाखिला गराएको थियो। सो पछी लुकिछिपी बस्दै आएका उनीहरूलाई गत कार्तिक ११ गते पक्राउ गरिएको थियो।

लिखत ९किर्ते०, ठगी, आपराधिक लाभ तथा आपराधिक विश्वासघात मुद्दामा अनुसन्धानपछि दुवै प्रतिवादीलाई जिल्ला सरकारी वकिल कार्यालयमार्फत अदालतमा पेश गरिएकोमा आइतबारकै आदेशअनुसार पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी विष्णु प्रदीप बस्यालले जानकारी दिएका छन्। पछिल्लो समय रौतहटमा किर्ते गरेर यसरी अरूको जग्गा हिनामिना गर्ने ठूलो सञ्जाल सक्रिय रहेको देखिएको छ।

Comment


Related News

Latest News

Trending News