मन्त्रालयको भागबण्डा टुंग्याउने प्रयासका बीच मधेश प्रदेश सरकारका सत्तारुढ दलहरूको मंगलबार बैठकबाट सहमति गर्दै मन्त्रालय विस्तार हुने सम्भावना प्रबल रहेको छ ।
मधेश प्रदेश सरकार गठन भएको २६ औँ दिनमा पनि सात दलीय गठबन्धनबीच भागवण्डा नमिल्दा मन्त्रिमण्डल विस्तार हुन सकिरहेको थिएन । मंगलबार विहान ८ बजे ६ दलीय गठमन्धनको बैठक बसेर मन्त्रालय बाँडफाँटको टुंगो लगाइने छ भने साँझसम्ममा मन्त्रालयले पूर्णता पाउने सम्भावना रहेको स्रोतले दाबी गरे ।
यता जसपा नेपाल र लोसपा नेपाल बीच एकीकरणले मधेशमा ठूलो दलको रुपमा उदाएपछि मधेश प्रदेश सरकारमा तीन मन्त्रालयमाथि दाबी गरेको बताइएको छ । जसपा नेपालले भौतिक पूर्वाधार विकास मन्त्रालय पाउने टुंगो लागे पनि अन्य थप दुई वटा मन्त्रालयमा दाबी गरिरहेको बताइन्छ ।
त्यस्तै नेपाली कांग्रेसले पनि थप तीन मन्त्रालयमा आफ्नो दाबी गरेको छ भने नेकपा माओवादी केन्द्रले नेकपा एससंग एकीकरण गरेपछि नेपाल कम्युनिष्ट पार्टीले समेत थप दुईवटा मन्त्रालयमा दाबी कायमै राखेको जनाइन्छ । यता जनमत पार्टीले पनि दुई मन्त्रालयमा दाबी गरिरहेको स्रोतको भनाइ छ ।
प्रदेश सरकारमा रहेका दलहरु नै भागवण्डामा संख्यात्मक रुपभन्दा बढी मन्त्रालयमाथि दाबी गर्न थालेपछि मन्त्रिपरिषद् विस्तारमा समस्या देखिएको छ । यद्यपि मंगलबार वा बुधबारसम्ममा प्रदेश सरकारलाई पूर्णता दिने मुख्यमन्त्री यादवको चाहना रहेको छ । मधेश प्रदेश सरकारमा रहेका ११ मन्त्रालयमध्ये हालसम्म ५ जना मात्र मन्त्री नियुक्त भए पनि ६ वटा मन्त्रालय मुख्यमन्त्री यादवसंगै रहेको छ ।
यसअघि बसेको सत्तारुढ दलको बैठक भागवण्डाकै कारण निष्कर्षविहीन बनेको थियो । जसपा नेपालका संसदीय दलका नेता सरोज यादवका अनुसार मंगलबार बिहान ६ दलीय गठबन्धनको बैठकबाट सबैको सहमतिमै प्रदेश सरकारले पूर्णता पाउने छ । कांग्रेसका कृष्ण प्रसाद यादव नेतृत्वको सरकार सात दलीय गठबन्धनको समर्थनमा मंसिर १९ गते गठन भएको छ ।


