धनुषाको कमला नगरपालिकाका जनप्रतिनीधिहरुबीचको झगडाको कारण नगरभरिका विद्यालयहरु विगत दुई सातादेखि बन्द रहेको छ ।
जनप्रतिनिधिहरूबीच सुरु भएको आन्तरिक द्वन्द्व अझै समाधान हुन नसक्दा शिक्षकहरु सडकमा उत्रेको छ । जसको प्रत्यक्ष असर शिक्षक, कर्मचारी तथा सर्वसाधारण नगरबासीले वर्षौंदेखि भोग्दै आएका छन् । कमला नगरपालिकाका मेयर, उपमेयर, वडाध्यक्षहरुबीचको झगडाको कारण शिक्षकहरुले तलव समेत पाउन नसक्दा तिनीहरु आन्दोलनमा उत्रेका हुन ।
नागरिकको आवश्यकताभन्दा बजेट बाँडफाँटमा सहमति हुन नसक्दा नगरपालिकाको समग्र कामकाज प्रभावित बनेको छ भने सो नगरपालिकाभरिका १७ वटै विद्यालयहरु विगत दुई सातादेखि नै बन्द रहेको छ । ६ महिनाको तलबभत्ता एकमुष्ट उपलब्ध गराउनुपर्ने तथा नियमित तलब सुनिश्चित गर्नुपर्ने माग राख्दै शिक्षकहरू आन्दोलनमा उत्रिएपछि कमला नगरपालिकाभित्रका ५ वटा माध्यमिक विद्यालय, २ वटा निम्न माध्यमिक विद्यालय र १० वटा प्राथमिक विद्यालयको पठनपाठन ठप्प भएको छ ।
माग पूरा नभएसम्म विद्यालय सञ्चालन नगर्ने अडानसहित १ सय ४९ जना शिक्षक पुस १ गतेदेखि हडतालमा उत्रँदा करिब ७ हजार बालबालिका पढाइबाट वञ्चित भएका छन् । शिक्षक मात्र होइन, स्वास्थ्य, कृषि, वडा सचिवलगायतका कर्मचारीहरूले पनि दशैं, तिहार र छठजस्ता महत्त्वपूर्ण चाडपर्व बितिसक्दा समेत तलबभत्ता नपाएको गुनासो गरेका छन् ।
असार १० गतेभित्र सम्पन्न हुनुपर्ने नगरसभा अहिलेसम्म नबोलाइएकाले कर्मचारीहरू थप आक्रोशित बनेका छन् । जनप्रतिनिधिहरूबीच बजेट भागबन्डामा सहमति हुन नसक्दा चालू आर्थिक वर्षको बजेट अहिलेसम्म पारित हुन नसक्दा शिक्षा मात्र होइन स्वास्थ्य संस्थामा समेत असर परेको छ । स्वास्थ्य संस्थामा औषधिको अभाव छ भने छात्राहरू सेनेटरी प्याडबाट समेत वञ्चित भएका छन् ।
विकास निर्माणका काम ठप्प छन् र नगरपालिकाभित्रका करिब ५ हजार व्यक्तिले विगत पाँच महिनादेखि सामाजिक सुरक्षा भत्ता पाएका छैनन् । गत पुस १ गतेदेखि नै आन्दोलनमा रहेका शिक्षकहरुलाई विभिन्न चरणमा वार्ता भएपनि वार्ता भने मिल्न सकेका छैनन् । आज कार्यपालिकाबाट लिखित सम्झौता हुने समय तोकिएको छ ।



