मधेस प्रदेशमा शिक्षा र स्वास्थ्यसम्बन्धी मौलिक हकको पूर्ण कार्यान्वयनको माग गर्दै जनमत पार्टीको भातृ संगठन विद्यार्थी जनमत संघ अन्तर्गत राजर्षी जनक विश्वविद्यालय समितिका अध्यक्ष सशिकान्त मण्डलले मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई ज्ञापनपत्र बुझाएका छन् ।
ज्ञापनपत्रमा नेपालको संविधानले प्रत्याभूत गरेको शिक्षा र स्वास्थ्यसम्बन्धी मौलिक अधिकार व्यवहारमा कार्यान्वयन हुन नसकेको उल्लेख गरिएको छ । मण्डलले शिक्षा र स्वास्थ्य नागरिकका आधारभूत मौलिक अधिकार भए पनि मधेसी, दलित तथा अन्य सीमान्तकृत वर्ग अझै पनि यी अधिकारबाट वञ्चित रहँदै आएको अध्यक्ष मण्डलले बताए । उनका अनुसार कमजोर आर्थिक अवस्थाका कारण धेरै नागरिकले शिक्षा र स्वास्थ्य सेवामा पहुँच पाउन सकेका छैनन् ।
प्रदेशमा मधेसी, दलित तथा अन्य वर्गका नागरिक शिक्षा र स्वास्थ्य सेवाबाट बढी प्रभावित भएको उनको भनाइ छ । पछिल्लो समय शिक्षा र स्वास्थ्य सेवा अत्यधिक महँगो बन्दै गएको भन्दै उनले यसले विपन्न वर्गलाई झनै पछाडि धकेलिएको ज्ञापन पत्रमा भनिएको छ । ज्ञापनपत्रमा मधेस प्रदेश सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा कम्तीमा ५० प्रतिशतसम्म सहुलियतको व्यवस्था गर्न सके मधेसी, दलित तथा अन्य वर्गका नागरिकलाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गरिएको छ ।


