२०८२ पुष १६, बुधबार ०७:४१

जेन– जी आन्दोलनपछि भएको राजनीतिक परिवर्तनका कारण हुन लागेको प्रतिनिधिसभा निर्वाचनका कारण घनिभूत रुपमा राजनीतिक दलहरु कार्यगत एकतादेखि एकीकरणसम्मको ध्रुवीकरणले मधेश केन्द्रित राजनीति गर्दै आएका दलहरुलाई पनि छोएको छ ।

एकातिर सरकारले आगामी फागुन २१ गतेको निर्वाचन हुने छ भने यसका लागि मधेशमा तीव्र रुपमा एकता र एकीकरण प्रक्रियाको नेताहरुलाई चटारो लागेको छ । विभिन्न असन्तुष्टिका कारण जसपाबाट छुट्टिएर लोसपा नेपाल गठन गरेका महन्थ ठाकुरले अहिले आएर उपेन्द्र यादव नेतृत्वको जसपा नेपालसंग एकता गरेको छ । यसले दुबै दलमा सकारात्मक प्रभाव पनि देखिएको छ । तर जसपा र लोसपाले एकता गरे पनि जसपा नेपालले भने निर्धारित गरेका कार्यक्रमहरुलाई निरन्तरता दिने क्रममा लोसपाका शीर्षनेतालाई बेवास्ता गरिएको टिप्पणी पनि हुन थालेको छ ।

एकातिर निर्वाचन र अर्कोतिर पार्टी एकता कारण पार्टीको नाम, झण्डा, चुनाव चिह्न, अध्यक्ष लगायत अन्य पदाधिकारीहरू टुंग्याउन बाँकी नै रहेको छ । यसअघि लोसपा नेपालसंग वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) र हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी (जप्रपा) बीच एकता हुने सहमति भएको थियो । तर ती दलहरूको पनि एकता अहिलेसम्म पनि घोषणा हुन सकेको छैन । तर तमलोपा र जनता प्रगतिशील पार्टीले लोसपा नेपाललाई स्वीकारिसकेको छ ।

लोसपा नेपालकै चुनाव चिह्न र झण्डालाई पनि मानिसकेको छ । लोसपा नेपालका एक नेताका अनुसार तमलोपा र जप्रपा लोसपामा समाहित भइसके पनि अहिलेसम्म पद समायोजन गर्न मात्रै बाँकी रहेको दाबी गरेका छन् । तमलोपाका अध्यक्ष वृषेशचन्द्र लालले एकता गर्ने सहमति भइसकेको र अन्य विषयमा दल बसेर टुंग्याउने जानकारी दिए ।

तीन दलबीच एकता गर्ने सहमतिपछि व्यस्तताका कारण बैठक बस्न नसकेको बताए । तर लोसपा नेपाल भने यसबीचमा जसपा नेपालसंग एकता घोषणा गरेपछि साना दललाई बेवास्ता गरिएको देखिन्छ । जसपा नेपाल– लोसपा नेपाल अहिले आन्तरिक गृहकार्यमा रहेको भनिए पनि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव अहिले जनप्रदर्शन तथा विरोधसभा कार्यक्रम गर्दै हिडेका छन् । यता लोसपाका महासचिव डा. सुरेन्द्र झाले दुई पार्टीमध्ये कुनै एक दलमा सहमति बनाउने बताए ।

महासचिव झाले कुन पार्टी राख्ने र कसको चुनाव चिह्न राख्ने लगायत विषयमा उच्चस्तरीय कार्यदलले निर्णय लिने बताए । यता अशोक राई नेतृत्वको जसपाका उपाध्यक्ष रेणु यादव समूह पनि जसपा नेपालमा समाहित भएका छन् । जसपा नेपालको नाम, झण्डा र चुनाव चिह्न स्वीकार गरी उनीहरू समाहित भएका छन् ।

नेताहरूको व्यवस्थापन र जिम्मेवारीको काम पनि सोही कार्यदलले गर्ने जसपा नेपालका एक नेताले बताए । जसपा नेपाल यसपटक एकीकृत पार्टीमा एक जना मात्र अध्यक्ष रहने सहमति गरेको छ । पार्टीको कार्यकारी अध्यक्षमा उपेन्द्र यादव नै रहने छ भने अभिभावकको भूमिकामा लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरलाई जिम्मेवारी दिइने आन्तरिक तयारी रहेको जनाइएको छ । तर यसको औपचारिकता दिन अझै पनि केही समय लाग्ने छ ।

Comment


Related News

Latest News

Trending News