मन्त्रालयको भागबण्डा टुंग्याउने प्रयासका बीच मधेश प्रदेश सरकारका सत्तारुढ दलहरूको बैठकबाट सहमति हुन नसकेपछि पुनः बुधबार बैठक बसेर सरकारलाई पूर्णता दिने भएको छ ।
मधेश प्रदेश सरकार गठन भएको झण्डै एक महिनापछि बसेको छ दलीय गठबन्धनको बैठकबाट भागवण्डा नमिल्दा मंगलबार हुने भनिएको मन्त्रिमण्डल विस्तार हुन सकेन । बुधबार छ दलीय गठबन्धनको पुनः बैठक बसेर मन्त्रालय बाँडफाँटको टुंगो लगाइ सरकारलाई पूर्णता दिइने अर्थमन्त्री महेशप्रसाद यादवले जानकारी दिए ।
जसपा नेपाल र लोसपा नेपाल बीच एकीकरणपछि मधेश प्रदेशमा ठूलो दलको रुपमा उदाएपछि मधेश प्रदेश सरकारमा तीन मन्त्रालयमाथि दाबी गरिरहेको छ । जसपा नेपालले भौतिक पूर्वाधार विकास मन्त्रालय पाउने टुंगो लागे पनि अन्य थप दुई वटा मन्त्रालयमा दाबी गरिरहेको बताइन्छ ।
त्यस्तै नेपाली कांग्रेसले पनि थप तीन मन्त्रालयमा आफ्नो दाबी गरेको छ भने नेकपा माओवादी केन्द्रले नेकपा एससंग एकीकरण गरेपछि नेपाल कम्युनिष्ट पार्टीले समेत थप दुईवटा मन्त्रालयमा दाबी कायमै राखेको जनाइन्छ ।
यता जनमत पार्टीले पनि दुई मन्त्रालयमा दाबी गरिरहेको स्रोतको भनाइ छ । प्रदेश सरकारमा रहेका दलहरु नै भागवण्डामा संख्यात्मक रुपभन्दा बढी मन्त्रालयमाथि दाबी गर्न थालेपछि मन्त्रिपरिषद् विस्तारमा समस्या देखिएको छ ।
बुधबार प्रदेश सरकारलाई पूर्णता दिने जनमत पार्टीका नेतासमेत रहेका अर्थमन्त्री यादवले बताए । मधेश प्रदेश सरकारमा रहेका ११ मन्त्रालयमध्ये हालसम्म ५ जना मात्र मन्त्री नियुक्त भए पनि ६ वटा मन्त्रालय मुख्यमन्त्री यादवसंगै रहेको छ । यसअघि बसेको सत्तारुढ दलको बैठक भागवण्डाकै कारण निष्कर्षविहीन बनेको थियो ।


