मधेश सरकार गठन भए लगतै ‘मुख्यमन्त्री स्वच्छता अभियान’ भनेर गौरवको योजनाको रुपमा पोखरी सौन्दर्यकरणको आयोजना ल्याइयो । त्यसमा करोडौ रुपैया गरिएको लगानी ती योजना अलपत्रले खेर गएको देखिन्छ ।
तत्कालीन मुख्यमन्त्री लालबाबु राउत सरकारले प्रदेशको पर्यटन प्रवद्र्धन तथा वातावरण संरक्षण गर्ने उद्देश्यले आर्थिक वर्ष ०७५/७६ र ०७६/७७ मा ‘मुख्यमन्त्री स्वच्छता अभियान’अन्तर्गत प्रदेशभरका ३८ वटा पोखरी सौन्दर्यीकरण योजना ल्याएको थियो । जसमा हालसम्म ६७ करोड लगानी पनि सकेको छ । तर हालसम्म ती पोखरीहरुको सौन्दर्यकरण सम्पन्न हुन सकेको छैन ।
धनुषामा १२, सप्तरीमा दुई, सिराहामा दुई, महोत्तरीमा चार, सर्लाहीमा एक, रौतहटमा एक, बारामा चार, पर्सामा आठ र पूर्वाधार निर्देशनालय मातहतका चार गरी ३८ पोखरीमा सौन्दर्यकरणको काम सुरु गरिएको थियो । धनुषाका सोहरी पोखरी लक्ष्मस्निया, यादव टोल पोखरी धबौली, थुमोना पोखरी जनकपुर, भोइल पोखरी बभनगामा, पुर्नी पोखरी, आन्दन पोखरी, सुवाजी पोखरी कनकपट्टी, दीषणवारी टोल पोखरी कमला– ३ माचि, महोत्तरीका सुकदेव पोखरी सुगा, ब्रह्मस्थान पोखरी, लक्ष्मीसागर पोखरी, पैर्नी पोखरी इकरहिया, पर्साका नगवा पोखरी, मुरली पोखरी, छिपहरमाई पोखरी, लक्ष्मणवा पोखरी, निचुटा पोखरीमा सौन्दर्यकरणको काम शुरु गरिएको थियो ।
यस्तै सिराहाका चौरीदास पोखरी बरियारपट्टी, ओराही बभनटोली पोखरी, बाराका ऐसरा पोखरी सिम्रौनगढ, सर्लाहीको मलंगवा पोखरी, रौतहटको गढीमाई पोखरी, विनाग्रा पोखरी तथा सप्तरीको छिन्नमस्ता मन्दिर पोखरी लगायत सबैमा कार्य–इबिडिङ प्रक्रियामार्फत सौन्दर्यीकरण काम शुरु गरिएको थियो ।
तर काम सम्पन्न नहुँदै बजेट आभावमा २०७८ सालदेखि अलपत्र छन् । धनुषाको जनकपुरधाम उपमहानगरपालिका– १७ को सुवाजी पोखरीमा ६ वर्ष बितिसक्दा पनि पोखरी सौन्दर्यीकरण अझै अधुरो छ । वडा नम्बर ९ स्थित सरस्वती माध्यमिक विद्यालयको पोखरीमा पाँच करोड ३९ लाख ४० हजार ४०६ रुपैयाँमा ०७६ वैशाखमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।
सम्झौताअनुसार निर्माण कम्पनीले तीनतिर पर्खाल निर्माण गरेर ७० लाख २१ हजार २२७ रुपैयाँ भुक्तानीसमेत पाइसकेको छ । तर, पछिल्ला ६ वर्षदेखि काम अलपत्र अवस्थामा छ ।
वीरगन्ज महानगरपालिका– १६ स्थित नगवा पोखरीमा प्रेरा–रञ्जन संयुक्त उपक्रम (जेभी) ललितपुरसँग १० करोड १ लाख ३० हजार ६०९ रुपैयाँको ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार काम १४ वैशाख ०७८ भित्र सम्पन्न हुनुपर्ने थियो, तर हालसम्म जम्मा ५० प्रतिशत मात्र काम भएकोमा निर्माण कम्पनीले हालसम्म ३ करोड ९७ लाख ८७ हजार ५७६ रुपैयाँ भुक्तानी पाइसकेको छ ।
मुख्यमन्त्री स्वच्छता अभियान शुरुवात गरिएका महोत्तरी गाउँपालिका–३, मडैस्थित ब्रह्मस्थान पोखरी सौन्दर्यीकरण योजना पनि अलपत्र अवस्थामा छ । पोखरी सौन्दर्यीकरणका लागि चार करोड ३३ लाख ११ हजार ६५० रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । यसमध्ये २ करोड ८० लाख ५३ हजार ६८० रुपैयाँ भुक्तानी भइसकेको भए पनि काम हालसम्म ५० प्रतिशत पनि काम भएको छैन ।
योजना कार्यान्वयन भइरहेका वेला कोभिड–१९ महामारीले करिब दुई वर्षसम्म काम ठप्प रहेका योजनालाई अघि बढाउनै लाग्दा ०७८ असोजमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छापा मारेर ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रम’सम्बन्धी फाइल लगेपछि स्वच्छता अभियान भौतिक पूर्वाधार विकास मन्त्रालयमा सारियो । त्यस बेलादेखि अघि बढन सकेका छैनन ।
भौतिक पूर्वाधार तथा विकास मन्त्रालयका निमित्त सचिव सञ्जयप्रसाद साहले पर्याप्त बजेट नहुँदा पोखरी सौन्दर्यीकरण अभियाने अघि बढ्न नसकेको बताउंछन् । उनले भने योजना अघि बढाउन आवश्यक बजेट विनियोजन नहुँदा अधुरो अवस्थामा छन् । बजेट विनियोजन नभएको होइन, केही विनियोजन भएपनि त्यो नाम मात्रको योजना बचाउन गरिएको हो । उनका अनुसार ३८ वटा योजनाको बजेट करिब एक अर्ब ३५ करोड रुपैयाँ तोकिएको छ । जसमा ६७ करोड खर्च भइसकेको छ भने ६८ करोड रुपैयाँको बजेट सुनिश्चित भएमा अलपत्र योजनाको काम सम्पन्न गर्न सकिने मन्त्रालयले जनाएको छ ।
लालबाबु राउतपछिका सरकार नेतृत्वकर्ताहरु जसपा नेपालका सरोज कुमार यादव, जनमतका सतिश सिंह सहितकाले सौन्दर्यकरणलाई ग्राहयता नदिई मधेश विश्वविद्यालय, कृषि विश्वविद्यालय र मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानसहितका नयाँ योजनाहरु अघि सारेपछि बजेट अपुग अहिलेसम्म अलपत्र अवस्थामा छन् ।
सिंहपछि गत चार महिनादेखि सरकार नै स्थिर छैनन । पूर्व मुख्यमन्त्री सिंह भन्छन् ‘म आउनुभन्दा पहिले नै यी कार्यक्रम लथालिंग अवस्थामा थिए । कतिपय योजनामा अख्तियारले अनुसन्धान गरिरहेको थियो, कतिपयको फाइल हराएको छ । अहिले त्यो कार्यक्रम भौतिक पूर्वाधार विकास मन्त्रालका जिल्ला भौतिक पूर्वाधार कार्यालयमा सारिएको छ । तर कुन योजनाको फाइल कहाँ छ भन्ने पत्ता लगाउन कठिन हुँदा काम गर्न सकेनौं ।


