नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्दसूचीमा पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरा एवं कांग्रेस पूर्व केन्द्रीय सदस्य डा. चन्द्रमोहन यादवको नाम दुई फरक स्थानमा समावेश गरिएको पाइएको छ ।
मंगलबार आयोगमा बुझाइएको सूचीअनुसार क्रम संख्या ३१ र ७८ मा डा. चन्द्रमोहन यादव दोहोरिएको छ । दुवै क्रम संख्यामा उनको जिल्ला धनुषा छ र नागरिकता नम्बर तथा मतदाता नामावली नम्बर उही छ ।
पूर्वराष्ट्रपतिका छोरालाई नै दोहोर्याएर सूचीमा राख्नुले कांग्रेसले सूची बनाउँदासमेत ध्यान नदिएको देखिन्छ । ११० जनाको कोटामा यसरी नाम दोहोरिँदा अब कांग्रेसको सूची १०९ जनाको मात्र भएको छ ।
एउटै व्यक्तिको नाम एउटै निर्वाचन प्रणालीको सूचीमा दुईपटक हुनुलाई निर्वाचन कानुन र प्राविधिक दृष्टिले गम्भीर त्रुटि मानिन्छ । एउटै व्यक्तिको नाम दुई ठाउँमा राख्दा अर्को एक योग्य र नयाँ अनुहारको अवसर खोसिएको छ।

निर्वाचन आयोगले नाम परिवर्तन गर्न पाइने भए पनि संख्या परिवर्तन गर्न नपाइने बताएको छ । एक जनाको नाम दुई ठाउँमा राखेर कांग्रेसले ११० जना पुर्याएकाले अर्को एक जनाको नाम थप्न आयोगले दिन्छ वा दिँदैन स्पष्ट छैन । कांग्रेसले मंगलबार मात्रै आयोगमा ११० जनाको नामावली बुझाएको थियो ।


