नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले कांगेस कांग्रेसकै बीचमा मेलमिलाप र एकता हुन आवश्यक रहेको बताएका छन् ।
राष्ट्रिय मेलमिलाप दिवको अवसरमा नेपाली कांग्रेसद्वारा धनुषाको लक्ष्मीनिया बजारमा आयोजित वृहत पार्टी प्रवेश कार्याक्रममा नेता निधिले राष्ट्रिय चुनावका लागि पहिला पार्टी भित्रै मेलमिलाप हुनुपर्ने धारणा राखे । उनले ४ नं. क्षेत्रमा चुनाव लड्नु अघि महेन्द्र यादव, चन्द्रमोहन, जोगिन्द्र पजियार, संतोष यादव, कुमरकान्त झासहितका नेताहरुबीच एकता र मेलमिलाप हुनु पर्नेमा जोड दिए ।
नेता निधिले पहिलेको कुराहरु बिर्सेर एकआपसमा समझदारी अपनाई चुनावमा होमिन आग्रह गरे । उनले पार्टी छाडेर गएका सम्पूर्ण नेता कार्यकर्ताहरुलाई फर्केर आउन आग्रह गरे । देशमा संकट आएका बेला सम्पूर्ण पार्टीहरुले कांग्रेललाई नै विश्वास गरेर नेतृत्व गर्न अगाडि बढाएको इतिहास नै रहेको उनले दाबी गरे ।
नेता निधिले देश र जनताको हक अधिकार र विकासका लागि काम गर्ने पार्टी एक मात्र नेपाली कांग्रेस रहेकोले अन्य पार्टीहरुमा आवद्ध नेता कार्यकर्ताहरुलाई पनि कांग्रेसमै आउन आग्रह गरे । नेता नीधिले एमाले, जसपा, माओवादी लगायतका पार्टीहरुले सँधै कांग्रेस संगै गठबन्धन गर्न खोज्ने कुराले नेपाली कांग्रेसमात्र राष्ट्रको पार्टी भएको प्रमाणित भएको बताए ।
नेता निधिले जनतालाई विकास र अधिकार मात्र चाहिएको बताए । उनले धनुषासहित देशका अधिकांश विकास पूर्वाधारका कामहरु नेपाली कांग्रेसलेनै गरेको दाबी गरे । उनले जनकपुरको रेल, सिक्स लाईन रोड, राजर्षी जनक विश्वविद्यालय, एयरपोर्ट लगायतका सम्पूर्ण विकासका पूर्वाधारहरु कांग्रेसले नै बनाएको बताए ।
नेता निधिले धनुषाको क्षेत्र नं. १ देखि ४ सम्म नेपाली कांग्रेसका उम्मेदवारलाई भारी मत दिई जिताउन आग्रह गरे । कार्यक्रममा नेकपा एमाले परित्याग गरी संतोष यादवको अगुवाईमा २५१ जना स्थानियहरु कांग्रेसमा प्रवेश गरेका थिए ।


