२०८२ पुष १७, बिहीबार ०७:३६

विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्दसूचीमा नेताका परिवारका व्यक्तिलाई राखेको छ । मंगलबार बुझाएको सूचीमा श्रीमती, छोराछोरी, बहिनी, ससुरा, भाञ्जीदेखि पीएसम्म समानुपातिक उम्मेदवार छन् ।

कांग्रेसका महामन्त्री गगन थापाका ससुरा अर्जुननरसिंह केसीलाई समानुपातिकतर्फको उम्मेदवार बनाइएको छ । केसी आफै पनि कार्यसम्पादन समिति सदस्य पनि छन् । केसीलाई समानुपातिक सूचीमा राखेको भन्दै आलोचना भएपछि महामन्त्री थापाले सामाजिक सञ्जालमा स्पष्टीकरण नै दिएका छन् ।

त्यस्तै अर्का कार्यसम्पादन समिति सदस्य बलबहादुर केसीले श्रीमती र बहिनीको नाम समानुपातिकको बन्दसूचीमा राख्न सफल भएका छन् । केसीकी श्रीमती रीना उप्रेती र बहिनी गोमा केसी समानुपातिक सूचीमा परेका छन् । उप्रेतीको नाम कांग्रेसको सूचीको १३ नम्बरमा र केसीको नाम १५ नम्बरमा छ ।

वर्तमान राष्ट्रपति तथा कांग्रेसका पूर्वकार्यवाहक सभापति रामचन्द्र पौडेलले आफ्नी छोरी संज्ञा पोखरेल पौडेललाई दबाब दिएर समानुपातिक सूचीमा राख्न लगाएका छन् । पोखरेलको नाम सूचीको ६२ औँ नम्बरमा रहेको छ । त्यस्तै पहिलो राष्ट्रपति तथा कांग्रेसका पूर्वमहामन्त्री डा. रामवरण यादवले छोरा डा. चन्द्रमोहन यादवको नाम सूचीमा राख्न सफल भएका छन् ।

डा. चन्द्रमोहन कांग्रेसका केन्द्रीय सदस्य पनि छन् । पूर्वउपसभापति विमलेन्द्र निधिको भाञ्जी निनु कर्णको नाम समानुपातिक सूचीमा छन् । नेपाल महिला संघकी नेतृ कर्णको नाम पनि सूचीको २५ औँ नम्बरमा हुँदा पनि महिला क्लष्टरमा भने एक नम्बर रहेको छ । निधिले कर्णको नाम समानुपातिक सूचीमा राखेको भन्दै कांग्रेस मधेश प्रदेशका सदस्य जीवनाथ चौधरील सामाजिक सञ्जालमा असन्तुष्टि जनाएका छन् ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता निधिले विगतमा पनि पार्टीभित्र पटकपटक आलोचना हुँदा पनि नसच्चिएको भन्दै सुध्रिनका लागि स्थानीय नेता तथा कार्यकर्ताले आग्रह गरेका थिए । तर यसपटक पनि भाञ्जीको नामा सिफारिस गरेर आलोचना खेप्नु परेकोले यस पटक तत्काल गम्भीर भइ समानुपातिक सूची सच्याउन चौधरीले माग गरेका छन् ।

तत्काल सो सूची नसच्याएमा विगतमा हुँदै आएको निर्वाचनमा झैँ यसपटक पनि सो परिणाम नदोहोरिनेमा भन्न सक्ने अवस्था सोचनीय रहेको उनको भनाइ छ । सामाजिक सञ्जालमा चौधरीले लेखेका छन्, विमल दाईसंग मेरो सामान्य जिज्ञासा तपाईसंगै जेलनेल बसेका, लाठी खाएका, यातना सहेका, प्रजातन्त्रका लागि जीवन अर्पण गरेका यसै क्षेत्रका ललन चौधरी, प्रफुल्ल राज घिमिरे, युवराज खाती, राज किशोर सिंह, राम भरत साह, वैद्यनाथ साह, धीरेन्द्र मोहन झा, निर्मल चौधरी, देवचन्द्र झा, अनिता श्रीवास्तव (अखिलानन्द श्रीवास्तवकी बुहारी), दिगम्बर राय, विभास लाभ, शम्भु नाथ झा मात्र होइन—सहिद दुर्गानन्द झा, नेवि नदाफ, सोने लाल पासवान, महावीर शर्मा, अखिलानन्द श्रीवास्तव, युगेश्वर शर्मा, भुवनेश्वर महासेठ, बलभद्र लाल कर्ण जस्ता प्रजातन्त्र सेनानीहरू, जो जीवनभर लोकतन्त्रका लागि लडे,कारागारमै सास फेरे,गरिबीमै मृत्युवरण गरे—उनीहरूले के पाए ? न उनीहरूले केही पाए, न त उनीहरूका सन्तानले ।

आज त तिनका छोरा–छोरी, श्रीमतीहरूको अवस्था के छ भनेर सोधपुछ गर्ने नेता पनि भेटिँदैन । गाँस, बास र कपास बिना बाँचिरहेका ती परिवारहरूको पीडा कसैको सूचीमा परेन । व्यक्तिगत रूपमा म निनु कर्णलाई बधाई दिन चाहन्छु र उहाँको उज्ज्वल भविष्यको कामना पनि गर्दछु। यहाँ प्रश्न व्यक्तिको होइन, प्रणालीको हो।योग्यता, योगदान र बलिदान भन्दा नाता–सम्बन्ध ठूलो बन्नु नै पीडादायक हो ।’ प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पनि आफ्ना सहयोगी (पीए) टेकबहादुर बिकको नाम सूचीमा राख्न भ्याएका छन् । बिकको नाम सूचीको १०९ नम्बरमा छ ।

Comment


Related News

Latest News

Trending News