२०८२ पुष १७, बिहीबार १७:३५

प्रधानमन्त्री सुशीला कार्की र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईँबीच वार्ता भएको छ ।

सिंहदरबारमा बिहीबार भएको वार्ताका क्रममा प्रधानमन्त्री कार्कीले प्रसाईंले अघि सार्नुभएका मागहरु मध्ये तत्काल पुरा गर्न सक्ने मागका बिषयमा अध्ययन गरि सरकारले उचित निकास निकाल्ने बताउनुभएको थियो ।

वार्तापछि प्रसाईंले आफुहरुको मागमा छलफल गर्न प्रधानमन्त्रीले आइतबारसम्मको समय माग गर्नुभएको र आइतबार सम्झौता गरि त्यसपछि बस्ने मन्त्रीपरिषद् बैठकबाट सम्झौता कार्यान्वयनको निर्णय गर्ने जानकारी प्राप्त भएको बताउनुभयो ।

उहाले सरकारसंग तेश्रो पटक वार्तामा बसेको भन्दै अब पनि आफ्ना माग–मुद्दामा सरकार गम्भीर नभए आन्दोलनमा जाने स्पष्ट जानकारी गराएको जानकारी दिनुभयो । प्रसाईंले जनमत संग्रह गरेर लोकतन्त्रको अधिक प्रयोग गर्न सुझाव दिएको उल्लेख गर्नुभयो ।

त्यस्तै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक भएको बताउनुभयो । वार्तामा सम्भव हुने किसिमका माग पूरा गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री खरेलले जानकारी दिनुभयो । दुवै पक्षबीच मुलुकमा शान्ति, स्थिरता, विकास र समृद्धि कायम गर्ने सन्दर्भमा कुनै मतभेद नरहेको प्रवक्ता खरेलले बताउनुभयो ।

उहाले मुलुक चूनावमा अघि बढिसकेको भन्दै चूनावलाई थप सुनिश्चित गर्न सवै पक्षसंग निरन्तर सम्वादमा सरकार रहेको उल्लेख गर्नुभयो ।

Comment


Related News