नेपाली कांग्रेसभित्र महाधिवेशन पक्षधर र महाधिवेशन तत्काल नगर्ने पक्षमा रहेका दुई धारबीच द्वन्द्व चर्किएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासंग कार्यवहाक सभापति पूर्णबहादुर खड्का र रमेश लेखकको उपस्थितिमा गर्ने भनिएको बैठक एक्कासी रद्द गरे पछि महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशन गर्ने निर्णय गरेका छन् ।
सो अनुसार महामन्त्री थापा विशेष महाधिवेशनको प्रतिवेदन लेखनमा व्यस्त देखिएका छन् । त्यसका लागि उनी धुलिखेलस्थित एक होटेलमा छन् । त्यस्तै अर्का महामन्त्री विश्वप्रकाश शर्मा सभापतिको बैठकमा जाने तय भए पनि मुख्यसचिव कृष्णप्रसाद पौडेलबाट अचानक बैठक रद्द भएको जानकारी प्राप्त भएको थियो ।
आगामी आमनिर्वाचनको मिति नजिकिँदै गर्दा कांग्रेसमा नियमित महाधिवेशनको सम्भावना टरेको छ । पुसको अन्तिम साताका लागि आह्वान गरिएको महाधिवेशन स्थगन भइसके पनि यसबारे औपचारिकता रुपमा जानकारी नगराइएको भन्दै महामन्त्री पक्षधरहरू आक्रोशित छन् । यता संस्थापन पक्ष यसलाई विफल पार्नका लागि लागिपरेका छन् भने संस्थापन पक्षको अवरोधपछि विद्रोहको तयारीमा महामन्त्रीद्वय लागिपरेका छन् ।
विशेष महाधिवेशन पक्षधर हरूले महामन्त्रीद्वयको नेतृत्वमा यही पुस २७ र २८ गते विशेष महाधिवेशन गर्न भृकुटीमण्डपमा हल बुकिङ गरिसकेका छन् । संस्थापन पक्षले यसलाई पूर्णरुपले बेवास्ता गरेको छ । दुवै महामन्त्रीले महाधिवेशन नगरे आगामी चुनावमा उम्मेदवारी नदिने यसअघि नै घोषणा गरिसकेका छन् ।
विधान अनुसार नियमित महाधिवेशन नभएको अवस्थामा पुस २८ अगाडि नै विशेष महाधिवेशन गर्नुपर्ने बाध्यकारी व्यवस्था रहेको छ । कांग्रेसको विधानमा विशेष महाधिवेशन हुनसक्ने तीन कारण उल्लेख गरिएको छ । पहिलोमा केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा, दोश्रोमा महाधिवेशन प्रतिनिधिमध्ये ४० प्रतिशतले विशेष महाधिवेशनको माग गरेमा तीन महिनाभित्र केन्द्रीय विशेष महाधिवेशन गर्नुपर्ने बाध्यकारी व्यवस्था छ ।
त्यस्तै तेस्रोमा पार्टी सभापतिले राजीनामा दिएमा उपसभापतिले कार्यवाहक सभापतिको रूपमा राजीनामा स्वीकृत भएको छ महिनाभित्रमा विशेष केन्द्रीय महाधिवेशनको आह्वान गर्नुपर्ने प्रावधान छ । महाधिवेशनबारे विवाद चर्किएपछि पार्टी सभापति देउवा नै सक्रिय भएर सहमति जुटाए पनि सोही अनुसार मंसिर १५ गतेको बैठकले पुस २६–२८ गते केन्द्रीय अधिवेशन गर्ने गरी कार्यतालिका पारित गर्दै सार्वजनिक गरिएको थियो ।
स्थगित पनि नगर्ने अनि कार्यतालिका हेरफेर पनि नगर्ने संस्थापनको शैलीप्रति विशेष महाधिवेशन प्रतिनिधिहरूले आपत्ति जनाउँदै अब विशेष महाधिवेशन गराउन माग गरेको छ । यस बीचमा पार्टी सभापति देउवाले विशेष महाधिवेशन हुनै नसक्ने र निर्वाचन अगाडि महाधिवेशन गर्दा त्यसको प्रभाव निर्वाचनमा पर्ने धारण सार्वजनिक गरेका थिए ।
त्यसपछि दुवै महामन्त्रीको साथमा विशेष महाधिवेशनको पक्षधरहरु बिहीबार भृकुटीमण्डपमा महाधिवेशन गर्ने गरी हल बुक गरेका थिए । दुबै महामन्त्रीले संयुक्त रुपमा विज्ञप्ति निकालेर नियमित महाधिवेशनको घोषित कार्यतालिका स्थगित गर्दै क्रियाशील सदस्यता वितरणको काम नरोक्न भन्दै अबको कार्यसमितिको बैठकले अधिवेशनबारे टुंगो लगाउने भनेर लेखेका छन् ।


