निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्वीकृत कार्यतालिका अनुसार नै तयारी तीव्र बनाइएको जनाएको छ ।
आयोगले शुक्रबार काठमाडौंमा सञ्चारकर्मीेसंग छलफल गर्दै कार्यतालिका अनुसार निर्वाचन आचारसंहिता पारित, बन्दसूची बुझ्ने, निर्वाचन खर्चको सीमा निर्धारण गर्ने, मतदाता शिक्षाका लागि अवधारणा तयार पार्ने कार्यसम्पन्न गरिसकेको जनाएको हो ।
निर्वाचनका लागि प्रत्यक्ष र समानुपातीक तर्फ करिव चार करोड संख्यामा मतपत्र छपाई गरिने र फागुन १० गतेसम्म सम्बन्धित सबै जिल्लामा पठाइसक्ने योजना रहेको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाले निर्वाचन प्रचारप्रसारका लागि सीमा निर्धारण गरिएको उल्लेख गर्दै उम्मेदवार तथा राजनीतिक दलले बैंक खाता खोली त्यसमार्फत खर्च गर्न पाउने बताउनुभयो ।
निर्वाचनको अन्तिम परिणाम घोषणा भएको ३५ दिनभित्र राजनीतिक दल तथा उम्मेदवारले सम्बन्धीत प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा खर्चको विवरण पेश गर्नुपर्ने प्रवक्ता भट्टराईले बताउनुभयो ।
त्यस्तै उहाले राजनीतिक दलले बुझाएको समानुपातिक बन्दसूची आफु अनुकुल संशोधन गर्न नमिल्ने बताउनुभयो । कलस्टर वा प्रतिनिधित्व नमिलेको अवस्था र उम्मेदवारले नाम फिर्ता लिएको अवस्थामा मात्रै अर्को उम्मेद्वारको नाम पठाउन सकिने उहाले स्पष्ट पार्नुभयो । उहाले समानुपातिक तर्फ अहिलेसम्म ५८ वटा चूनावचिन्ह मत पत्रमा रहने निश्चितजस्तै भएको जानकारी दिनुभयो ।


