सप्तरीको राजगढ गाउँपालिकाका अध्यक्ष ओमप्रकाश मण्डल धरौटीमा रिहा भएका छन् । हत्या अभियोगको आरोपमा अदालतमा हाजिर भएका राजगढ गाउँपालिकाका अध्यक्ष मण्डल बिहीबार धरौटीमा रिहा भएका छन् ।
उनी बुधबार बिहान अदालतमा हाजिर भएका थिए भने बिहीबार भएको बहसपछि उनी धरौटीमा रिहा भएका छन् । अदालतका न्यायाधीश रोमनाथ अधिकारीको दुई नम्बर इजलासमा भएको बहसपछि उनलाई दुई लाख रुपैयाँ धरौटी तिर्न आदेश भएको अदालतका सूचना अधिकारी उमेशकुमार अर्यालले जानकारी दिए ।
विसं. २०५५ साउन ३ गते सप्तरीको तत्कालीन बेल्ही चपेना गाविस–३ स्थित रामजानकी मन्दिरका पुजारी जन्त्रीदास बैरागीको हत्या भएको थियो । उक्त मुद्दामा पालिका मण्डलसहितका सात जनाविरुद्ध १५ वैशाख ०७८ मा पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी रहेकै बेला मण्डल ०७९ वैशाख ३० मा स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट अध्यक्षमा निर्वाचित भएका थिए ।
उनी निर्वाचित भएको झण्डै १० महिनापछि १४ फागुन ०७९ मा जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलले मुद्दा मुल्तबीमा राखिएको थियो । अभियुक्तमध्येका राजगढ गाउँपालिका वडा नम्बर ४ का रामनारायण मण्डल २ पुसमा नै अदालतमा हाजिर भएका थिए । पुस ३ मा अदालतका न्यायाधीश महेन्द्रबहादुर थापा क्षेत्रीको एकल इजलासले मण्डललाई दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएपछि अध्यक्ष मण्डल पनि हाजिर भएका थिए ।
उक्त मुद्दाका अन्य अभियुक्त गाउँपालिका अध्यक्ष मण्डलकै बुवा तत्कालीन बेल्ही चपेना गाविसका अध्यक्ष गंगाराम मण्डल, सोही ठाउँका रामदेव सदा मुसहर, मनिक शर्मा, बौकाई भनिने बच्चा यादव र भोलिचन सदा मुसहर भने अझै फरार छन् । अभियोगपत्र अनुसार अध्यक्ष मण्डलकै बुवा गंगारामले मन्दिरको ११ विघा जग्गाको धान मन्दिरलाई दिन नमान्दा विवाद भएको थियो ।



