२०८२ पुष १९, शनिबार ०८:०६

हालै जसपा नेपालसंग एकीकरण भएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रिय सभा सदस्यमा उम्मेदवार बनाउने भएपछि नेपाली कांग्रेसदेखि नेकपासम्मले सहकार्यका लागि प्रस्ताव अघि सारेको छ ।

शुक्रबार बसेको संघीय लोकतान्त्रिक मोर्चाको बैठकमा पनि औपचारिक रूपबाटै नेता ठाकुरलाई राष्ट्रियसभा सदस्यमा उम्मेदवार बनाउने सन्दर्भमा छलफल भएको थियो । संघीय लोकतान्त्रिक मोर्चाको बैठकमा सहभागी भएका एक नेताले भने, ‘राष्ट्रिय सभाको चुनावमा कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच २/२ वटा सीटमा सहकार्य भएको छ भनेर महन्थ ठाकुरले जानकारी गराउनुभएको थियो ।’ मोर्चाको बैठकमा सहभागी एक नेताका अनुसार कांग्रेसले २ वटा सीट लिने र जसपालाई २ सीट दिने भनेर समझदारी कायम गरिएको छ ।

लोसपा नेपालका महासचिव परमेश्वर साहले अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रियसभा सदस्यको उम्मेदवारको रूपमा प्रस्ताव गरिएको पुष्टि गरे । लोसपा नेपालका महासचिव साहले अध्यक्ष ठाकुरको नाम राष्ट्रिय सभाका लागि प्रस्ताव गरिएको बताउँदै भने, ‘उहाँको पक्षमा राष्ट्रिय सभाको लागि समय अनुकूल अवस्था छ ।

कुन पार्टीसंग सहकार्य गर्ने भन्ने कुरा अहिले तय नभइसके पनि नेपाली कांग्रेससंग सहकार्यका लागि कुरा अघि बढेको छ, तर नेपाली कम्युनिष्ट पार्टी (नेकपा)संग पनि सहकार्यका लागि कुराकानी अघि बढेको छ ।’ उनले मोर्चाको मतले मात्र नपुग्ने हुनाले अन्य विभिन्न दलसंग सहकार्य गर्ने भन्ने विषयमा औपचारिक निर्णय नभएको स्पष्ट पारे । आसन्न प्रतिनिधिसभा निर्वाचनमा मोर्चाबीच तालमेल गरेर जाने भए पनि कुन निर्वाचन क्षेत्रमा कोसंग कसरी तालमेल गर्ने भन्ने बारेमा पनि कार्यदल बनाइने भएको छ ।

यसअघिको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ठाकुर कांग्रेसको समर्थनमा महोत्तरीको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा चुनावमा विजयी भएका थिए । यसपटक ठाकुरले आफ्नै छोरीलाई उम्मेदवार बनाउने भएपछि कांग्रेसले आफ्नै उम्मेदवार उठाउने तयारी गरिरहेको छ । लामो समयपछि मोर्चाको बैठकमा सहभागी भएका जनमत पार्टीका अध्यक्ष सीके राउत भने कांग्रेससंगको सहकार्यप्रति असन्तुष्टि व्यक्त गर्दै विभिन्न प्रश्न उठाएको बैठकमा सहभागी एक नेताले बताए ।

अध्यक्ष राउतले प्रश्न सोधे पनि त्यसको जवाफ भने नआएको अर्का एक नेताले बताए । लोसपाको पार्टी कार्यालय बबरमहलमा बसेको बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादवले नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले पनि राष्ट्रिय सभादेखि प्रतिनिधि सभा निर्वाचनसम्मै सहकार्यका लागि प्रस्ताव आएको जनाए । ‘राष्ट्रिय सभामा हामी कांग्रेससंग सहकार्य गर्ने गरी अघि बढिरहेका छौँ,’ जसपा नेपालका अध्यक्ष यादवको भनाई उद्धृत गर्दै एक नेताले भने, तर नेकपाका सह–संयोजक माधव नेपालजीले पनि सहकार्यका लागि प्रस्ताव गर्नुभएको छ । हामीले मोर्चामा छलफल गरेर भन्छौँ भनेर जवाफ दिएका छौँ भन्ने जानकारी उपेन्द्रजीले गराउनुभए थियो ।’

आगामी माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ भने आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ । मोर्चाको शुक्रबार बसेको बैठकमा प्रतिनिधिसभामा कुन–कुन क्षेत्रमा सहकार्य गर्ने भन्ने कुरा टुंग्याउने गरी कार्यदलले तयारी गर्ने र आगामी बैठकमा प्रस्तुत गरेर निर्णय गर्नेबारे छलफल भएको बताइन्छ ।

Comment


Related News

Latest News

Trending News