मधेश प्रदेशको बारा जिल्लामा नेपाल प्रहरीका एक प्रहरी नायब निरीक्षक (सई) को साथबाट सरकारी पेस्तोल हराएपछि प्रहरीको लागि चिन्ताको विषय बनेको छ ।
घटनालाई गम्भीर रुपमा लिदैँ इलाका प्रहरी कार्यालय (इप्रका) कबहीमा कार्यरत १२ जना प्रहरी कर्मचारीमाथि अनुसन्धान थालिएको छ । इप्रका कबहीका प्रमुखसमेत रहेका सई सोनुकुमार मिश्रले बोकेको ९ एमएमको सरकारी पेस्तोल रहस्यमय रूपमा हराएपछि मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरले सो कार्यालयमा कार्यरत सईदेखि कार्यालय सहयोगीसम्मका प्रहरीलाई प्रदेश कार्यालयमा तानेको जनाइएको छ ।
उक्त घटनाको छानबिनको क्रममा सोधपुछका लागि उनीहरूलाई जनकपुरधाममा झिकाइएको छ । कबहीमा भने अस्थायी रूपमा अर्को प्रहरी टोली खटाइएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।
पुस ११ गते नै पेस्तोल हराएको भनि जानकारी प्राप्त भएपछि मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाको निर्देशनमा एसपी भेषराज रिजालको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरिएको थियो । पुस १५ मा गठन भएको समितिले घटनास्थलको प्रारम्भिक अध्ययन सकेपछि थप अनुसन्धानका लागि उक्त इप्रकामा कार्यरत सम्पूर्ण प्रहरीलाई प्रदेश कार्यालयमा झिकाइएको छ ।
प्रारम्भिक बयानका क्रममा सई मिश्रले राति गस्ती गर्ने क्रममा पेस्तोल हराएको बताइएको छ । तर, उनले ब्यारेकबाटै हतियार हराएको हुन सक्ने अर्को बयानसमेत दिएका कारण घटनाको विवरण अस्पष्ट र शंकास्पद देखिएको प्रदेश प्रहरीले जनाएको छ । त्यसैले सबै प्रहरी कर्मचारीलाई अलग–अलग राखी गहन सोधपुछ भइरहेको जनाइएको छ ।
छानबिन समितिका संयोजक एसपी रिजालले दोषी देखिने जो कोहीलाई पनि कानुनी अनुसार कारबाही गरिने जानकारी दिए । यसैबीच सीमा क्षेत्रमा तस्कर समूह सक्रिय रहेकाले ड्युटीका क्रममा हतियार खोसिएको हुन सक्ने आशंकाबाट पनि अनुसन्धान थालिएको छ । सरकारी हतियार नै सुरक्षित नहुनुले सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न खडा भएको छ ।


