आसन्न राष्ट्रिय सभा र प्रतिनिधिसभाको निर्वाचनलाई लिएर विभिन्न राजनीतिक दलहरुबीच तीव्र रुपमा ध्रवीकरणसंगै चुनावी तालमेलको चर्चा हुन थालेको छ । जेन– जी आन्दोलनपछि पार्टी फोडेर नयाँ दल गठन गर्ने र नयाँ दलहरु बीच एकता र एकीकरणको प्रयास भइरहेको अवस्थामा ठूला भनिएका संसदीय दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी(नेकपा)बीच पनि तालमेलको लागि संवादको क्रम तीव्र भएको बुझिएको छ ।
नयाँ दलहरुको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवगठित विभिन्न दलहरुलाई एकत्रित गरी एउटै पार्टी बनाउने अभियान थालेको छ । रास्वपाका सभापति रवि लामिछानेको अगुवाइमा काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र साह र बहालवाला मन्त्री कुलमान घिसिङबीच भएको सहमति अनुसार पार्टी एकता गरी एकढिक्का भएको देखिएको छ ।
आन्तरिक रुपमा उनीहरुबीचको किचलो जारी रहे पनि यस घटनाले नेपाली राजनीतिलाई तरंगित गरेको छ । लामिछाने, साह र घिसिङबीच एकता भएपछि ठूला दल कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टीले चुनावी गठबन्धन गर्न सक्ने धेरैको विश्लेषण समेत गर्न थालेका छन् । जेन– जी आन्दोलनको नाममा मुलुकको प्रशासनिक, न्यायिक, कार्यपालिकासमेतमा आगजनीको घटनाको क्रममा सुरक्षानिकायकै उपस्थितिमा हुँदा समेत नेपाली सेनाले पनि केही गर्न नसक्नु जस्ता टिकाटिप्पणीले विगतका ठूला दलहरुलाई सुरक्षा चुनौतीको साथसाथै मुलुकको राजनीति नै अन्योलता गुज्रिरहेको भन्दै यी दलहरु एक ठाउँमा आउनुपर्ने प्रसंग चुलिएको छ ।
यसको प्रयासस्वरुप कांग्रेस सभापति शेरबहादुर देउवाले रमेश लेखकलाई दूत बनाएर एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटघाट गरिएको स्रोतको दाबी छ । ओली र प्रचण्डले पनि चुनावी तालमेलको देउवाको प्रस्तावमा सकारात्मक संकेत दिएको स्रोतले बताएको छ ।
यता कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्मा पनि चुनावी तीन दलबीच चुनावी तालमेल हुनेबारेमा देउवा, ओली र प्रचण्डबीच अनौपचारिक छलफल भएको पुष्टि गरे । नागरिकको अधिकार स्थापित गरेर, विधि, मूल्य र मान्यतामा हिडेका दलहरुमाथि चौतर्फी आक्रमण भइरहेको र विदेशी षड् यन्त्र सल्बलाइरहेकाले देउवा, ओली र प्रचण्ड मिल्नसक्ने नेता विश्वकर्माले दाबी गरे ।
नेता विश्वकर्माले भने, ‘हाम्रो अहिले कसैसंग पनि प्रतिनिधिसभाको निर्वाचनमा गठबन्धन हुँदैन । तर बजारमा केही पनि प्रश्न उठेको छैन भन्ने होइन । अहिले संविधानमाथि, व्यवस्थामाथि, राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतामाथि आक्रमण छ । यो देशमा ८० वर्षसम्म संर्घ गरेर नागरिक अधिकार स्थापित गरेर विधि, मूल्य र मान्यतामा हिडेका दलहरुमाथि र व्यवस्थामाथि चौतर्फी आक्रमण भएको, विदेशी षड्यन्त्रहरु सल्बलाइरहेको हुनाले यसको विरुद्ध एक ठाउँमा उभिनुपर्छ भन्ने सन्देश चाही जीवित नै छ । त्यो सन्देशका आधारमा भोली नयाँ शिराबाट राजनीति शुरु गर्न सकिन्छ । उम्मेदवारी दिन पनि सकिन्छ । तर, अहिले सिधा गठबन्धन गरेर जनताको बीचमा जाने भन्ने कुराले औपचारिकता पाएको छैन ।’ उनले देउवा, ओली र प्रचण्डबीच ‘ हामीमाथि आक्रमण भयो । हामी एक्लाएक्लै लड्यौं भने व्यवस्थामाथि पनि खतरा हुन सक्छ’ भन्ने तबरबाट छलफल अगाडि बढेको स्वीकारे । नेपालको राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउनेहरु, जलेको बेलामा दमकल नपठाउनेहरु, नेताहरुको निजी सम्पत्ति, कर्पोरेट हाउसमाथि आगो लगाउनेहरु, समग्रमा देश जलाउनेहरु र देश बनाउनेहरुमा कित्ताकाट भएको बताए । यस्तो बेलामा देउवा, ओली र प्रचण्डले चुनावी गठबन्धनको निर्णय नगर्लान् भन्न नसकिने उनले टिप्पणी गरे । सहकार्य हुन सक्ने सम्भावना जीवित नै रहेको उनको भनाइ छ ।


