नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले देशका सातै प्रदेशमा हुने प्रादेशिक कला प्रदर्शनीका लागि यही पुस मसान्तसम्म कलाकृति बुझाउन आग्रह गरेको छ ।
प्रतिष्ठानका सदस्यसचिव देवेन्द्र काफ्ले थुम्केलीले प्रदर्शनी आयोजनाको मिति घोषणा गरिसकेको जानकारी दिँदै पुस मसान्तसम्मका कलाकृतिमात्रै समावेश हुने जानकारी दिए । नेपाली ललितकलाको महोत्सव मानिने राष्ट्रिय ललितकला प्रदर्शनी र प्रादेशिक ललितकला प्रदर्शनीको तयारी भएको उल्लेख गर्दै उनले अहिलो कलाकृति संकलनको काम भइरहेको बताए । थुम्केलीले आगामी माघ १५ गते गण्डकी प्रदेशबाट प्रदर्शनीको थालनी हुने बताए ।
कलाकै महोत्सव मानिने उक्त प्रदर्शनी ‘सामाजिक रूपान्तरणः ललितकलाको अभियान’ भन्ने मूल भावमा रही आयोजना गर्न लागिएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले बताए । प्रतिष्ठानले सार्वजनिक सूचना जारी गरी भनेको छ, “प्रज्ञा प्रतिष्ठान ऐन २०६४ को दफा ५ को खण्ड (६) र राष्ट्रिय ललितकला प्रदर्शनी कार्यविधि–२०८० र प्रादेशिक ललितकला प्रदर्शनी कार्यविधि–२०८० बमोजिम प्रतिष्ठानले प्रदर्शनीका लागि पुस ३० गतेभित्र कलाकृति बुझाउन आम कलाकारहरूमा अनुरोध छ ।” प्रतिष्ठानले प्रादेशिक ललितकला प्रदर्शनीमा प्रतियोगी र अप्रतियोगी कलाकृति र विसं २०८३ जेठ १५ गते काठमाण्डुमा हुने राष्ट्रिय ललितकला प्रदर्शनीमा अप्रतियोगी र आमन्त्रित कलाकृति बुझाउन आग्रह गरिएको छ ।
प्रतिष्ठानका अनुसार गण्डकी प्रदेशको गैँडाकोटमा आगामी माघ १५ देखि १९ गतेसम्म प्रदर्शनी आयोजना हुनेछ भने मधेश प्रदेशको धनुषामा माघ १६ देखि २० गतेसम्म मैथिली विकास कोषसंगको सहकार्यमा प्रदर्शनी आयोजना हुनेछ । त्यस्तै लुम्बिनी प्रदेशको कालिका मानव ज्ञान मावि रुपन्देहीमा माघ १७ देखि २१ गतेसम्म आयोजना हुने भएको छ ।
त्यसैगरी कर्णाली प्रदेशको कमर्सियल आर्टिष्ट संघसंगको सहकार्यमा माघ १९ देखि २३ गतेसम्म प्रदर्शनी आयोजना हुने छ । सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा माघ २१ देखि २५ सम्म, कोशी प्रदेशमा माघ २९ देखि फागुन ४ गतेसम्म आयोजना हुने छ । त्यस्तै बागमती प्रदेशमा भने फागुन ८ देखि १२ गतेसम्म नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने सदस्यसचिव थुम्केलीले बताए ।
सबै प्रादेशिक प्रदर्शनी सकिएपछि त्यहाँबाट छानिएका कलाकृति समेटेर आगामी जेठ १५ देखि ३० गतेसम्म काठमाण्डुमा राष्ट्रिय ललितकला प्रदर्शनी आयोजना गरिने उनको भनाइ छ । सोही क्रममा कलाकारलाई पुरस्कार तथा सम्मानसमेत प्रदर्शन गरिने उनले बताए ।


