सर्लाहीको सागरनाथ वन परियोजनामा कार्यरत एक चौकीदारको हत्या भएको घटना बाहिरिएको छ ।
सर्लाहीको ईश्वरपुर नगरपालिका–२ स्थित राइटरखोरस्थित सागरनाथ वन विकास परियोजनामा कार्यरत वन चौकीदारको बीभत्स हत्याको घटना बाहिरिएको छ । परियोजनामा ज्यालादारीमा वन हेरालुको काम गर्दै आएका स्थानीय ४७ वर्षीय रामईश्वर महतोको टाउको काटिएको अवस्थामा शव फेला परेको छ ।
काटिएको टाउको अझै फेला पर्न नसकेको सर्लाही प्रहरीका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । मृतकको टाउको खोज्ने प्रयासमा सर्लाही प्रहरीले अनुसन्धानलाई तीव्र बनाएको बताए । घरबाट करिब ५ सय मिटर टाढा जंगलमा महतोको टाउकोबिनाको शव फेला परेको स्थानीयहरु बताउँछन् ।
शनिबार बिहान जंगलमा रुख काटेको आवाज सुनेर त्यसतर्फ गएका महतो दिउँसोसम्म घर नफर्किएपछि खोजी गर्दा शव भेटिएको छ । घटनास्थलबाट एक थान बञ्चरो समेत बरामद भएको जनाइएको छ । उक्त घटना प्रकृति गम्भीर रहेकाले प्रहरीले सूक्ष्म र गहिरो अनुसन्धान थालेको छ ।
प्रदेश प्रहरी प्रमुख डिआइजी गोविन्द थपलियाले उक्त घटनाको सत्यतथ्य पत्ता लगाउन विशेष तालिम प्राप्त प्रहरी टोलीसहितको कुकुर समेत घटनास्थलमा परिचालन गरिएको छ । सर्लाही प्रहरीले एक जना शंकास्पदलाई व्यक्तिलाई पक्राउ गरी तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान जारी राखेको जनाएको छ । यता घटनापछि स्थानीयवासी भने त्रसित बनेका छन् ।


