२०८२ पुष २०, आईतवार ०८:०१

रौतहटको गढीमाई नगरपालिका–८ स्थित बिरनगराका ६० वर्षीया बिफिया देवी पासवान गम्भीर दुर्घटनामा परेर उपचारको अभावमा अलपत्र परेकी छन् ।

मंसिर १५ गते बजार जाँदै गर्दा बाटोछेउमा स्थानीय ठेकेदार श्याम नारायण पटेलले सुरक्षा सावधानी नअपनाई इलेक्ट्रिक ‘साउन्डलेस’ मेसिन प्रयोग गरी काटेको रुख अचानक बाटोमै खस्दा बिफिया देवी गम्भीर रूपमा घाइते भएकी थिइन् । दुर्घटनामा उनको टाउको गहिरो रूपमा चिरिनुका साथै छातीको हड्डीसमेत भाँचिएको पीडित परिवारले जनाएको छ ।

पीडितका छोरा राजकिशोर पासवानले सनिवार पत्रकार सम्मेलन गरी घटनापछि ठेकेदार पटेल र उनका भाइले घाइतेलाई बिरगञ्जस्थित सूर्य अस्पताल पु¥याए पनि उपचार खर्चमा कुनै सहयोग नगरी अलपत्र छाडेर फरार भएको आरोप लगाए । हालसम्म उपचारमा करिब तीन लाख रुपैयाँ खर्च भइसकेको भए पनि ठेकेदारले एक रुपैयाँसमेत नदिएको उनको भनाइ छ ।

बिरामीको अवस्था थप जटिल बन्दै गएपछि सूर्य अस्पतालले काठमाडौंस्थित बी एन्ड बी अस्पताल रिफर गरे पनि बाँकी उपचार शुल्क तिर्न नसक्दा उनी हालसम्म सोही अस्पतालमै रोकिएकी छन् । समयमै उपचार नपाउँदा स्वास्थ्य अवस्था झन् गम्भीर बन्दै गएको पीडितको भनाइ छ । घटनाबारे इलाका प्रहरी कार्यालय गरुडामा ठाडो निवेदन र जाहेरी दिँदा पनि मुद्दा दर्ता गर्न आनाकानी भइरहेको पीडित पक्षको आरोप छ ।

एक महिना देखी दैनिक प्रहरी कार्यालयमा धाइरहेको छु तर कसैले वास्ता नगरेको उनको आरोप रहेको छ । पीडितका अनुसार ठेकेदार तथा गरुडा थानामा कार्यरत असई सुधीर यादवले मुद्दा मिलाउन दबाब दिँदै धम्कीसमेत दिएको आरोप लगाइएको छ । न्याय नपाएपछि बाध्य भएर पत्रकारसमक्ष आएको पीडित परिवारले जनाएको छ ।

यस विषयमा इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी ओम प्रकाश प्रसाद आचार्यले ठेकेदारमाथि कुन विषयमा मुद्दा चलाउने भन्ने कुरा आफूले बुझ्न नसकेको प्रतिक्रिया दिएका छन्। आरोपी ठेकदारले उपचार खर्च दिएको बताएकाले थप जानकारी लिने र उचित कार्यवाही गरिने प्रतिक्रिया दिँदै अन्य आरोपको खण्डन गरेका छन् ।

पीडित पक्षले घटनामा संलग्न ठेकेदार, दबाब दिने प्रहरी कर्मचारीलगायत सबै दोषीमाथि निष्पक्ष छानबिन गरी तत्काल कडा कानुनी कारबाही गर्न माग गरेको छ । साथै, पीडितको उपचार खर्च तत्काल व्यवस्थापन गरी जीवन रक्षा गर्न र कानुनभन्दा माथि कोही छैन भन्ने कुरा व्यवहारमै प्रमाणित गर्न सम्बन्धित निकायसँग आग्रह गरिएको छ ।

Comment


Related News

Latest News

Trending News