२०८२ पुष २०, आईतवार ०८:१२

फिलिपिन्सको ब्युरो अफ इमिग्रेसनले एक नेपाली युवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ३३ वर्षीय नेपाली नागरिक प्रकाश पाठक रहेका छन् । उनलाई डिसेम्बर ३१ मा मालोलोस सहरको बाराङ्गे क्याटमोनस्थित पासेओ डे कंग्रेसोबाट पक्राउ गरिएको फिलिपिन्स प्रहरीले जनाएका छन् । पाठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० उच्च पदस्थ व्यक्तिलाई धम्की दिएका थिए ।

काभ्रेको तेमाल गाउँपालिका–१ घर भएका पाठकविरुद्ध काठमाडौँ जिल्ला अदालतले एक महिनाअघि फौजदारी आरोपमा पक्राउ पुर्जी जारी गरेको थियो । मंसिर २६ गते पाठकविरुद्ध जबरजस्ती असुली र आपराधिक षड्यन्त्रको लागि इन्टरपोल डिफ्युजन नोटिस पनि जारी गरिएको थियो ।

पाठक विदेशमा गम्भीर सुरक्षा सम्बन्धित गतिविधिहरूमा संलग्न रहेको पनि खुलेको फिलिपिन्सको ब्युरो अफ इमिग्रेसले जनाएको छ । पाठकले भागेका कैदीहरूलाई आत्मसमर्पणको प्रतिरोध गर्न प्रोत्साहित गरेको, आर्थिक सहयोग प्रस्ताव गरेको र हतियारमा पहुँचबारे उल्लेख गरेका थिए । उनी एक उच्च पदस्थ विदेशी सरकारी अधिकारीको हत्याको षड्यन्त्रमा पनि जोडिएका जनाइएको छ ।

पाठक २०२५ अगस्ट १८ मा फिलिपिन्स पुगेका र डिसेम्बर १८ सम्म बस्ने अनुमति पाएका फिलिपिन्स प्रहरीको अनुसन्धानले देखाएको छ ।

Comment


Related News

Latest News

Trending News