सिरहामा जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता रामलोचन ठाकुर आमजनता पार्टीमा प्रवेश गरेका छन् ।
जसपा नेपाल सिरहा जिल्लाका पूर्वजिल्ला अध्यक्ष रामलोचन ठाकुर ‘स्वामीजी’ सहित विभिन्न राजनीतिक दलका नेताहरुसमेत आम जनता पार्टीमा प्रवेश गरेका छन् । आम जनता पार्टीको केन्द्रीय कार्यालय कोटेश्वरमा आइतबार आयोजित विशेष कार्यक्रममा ठाकुर ‘स्वामीजी’ सहितका नेता तथा कार्यकर्ताहरूले पार्टीको नीति, सिद्धान्त र कार्यक्रमप्रति विश्वास व्यक्त गर्दै औपचारिक रूपमा पार्टी प्रवेश गरेका हुन् ।
उक्त कार्यक्रममा आजपाका अध्यक्ष प्रभु साहले नवप्रवेशीहरूलाई खादा, माला र टीका लगाएर स्वागत गरेका थिए। पार्टी नेतृत्वले अनुभवी र जनआधारित नेताको प्रवेशले संगठन सुदृढीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छन् । विशेषगरी सिरहा जिल्ला तथा मधेस प्रदेशमा पार्टीको जनाधार विस्तार हुने अपेक्षा गरिएको छ ।
नवप्रवेशीका तर्फबाट बोल्दै रामलोचन ठाकुर ‘स्वामीजी’ले सुशासन, सामाजिक न्याय, जनअधिकार र भ्रष्टाचारविरुद्ध आम जनता पार्टीको स्पष्ट धारणा आफूलाई आकर्षित गरेको बताउँदै पार्टी प्रवेश गरेको जनाए । उनले आगामी दिनमा संगठन निर्माण र जनताको पक्षमा संघर्ष गर्न सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उक्त कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताहरूले आम जनता पार्टीलाई वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित गर्न एकजुट भएर अघि बढ्ने संकल्प लिएका छन् ।


