प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष सोहन साहको राजीनामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वीकृत गरेको छ ।
नेपाली कांग्रेस मधेश प्रदेशका संसदीय दलका नेता कृष्णप्रसाद यादव नेतृत्वमा प्रदेश सरकार गठन भएपछि मुख्यन्यायाधिवक्ता सुरेन्द्र कुमार महतोको पदच्यूत नै गर्नु परेको थियो ।
साहलाई समेत प्रदेश सरकारको दबाब परेपछि राजीनामा दिन बाध्य भएको स्रोतले दाबी गरेको छ । साहले “प्रदेश नीति आयोग गठन तथा कार्य संचालन ऐन, २०७५ को दफा १६ (ख) बमोजिम नीति तथा योजना आयोगको उपाध्यक्ष पदबाट राजीनामा स्वीकृतिको लागि आग्रह गरेका थिए । उनले आफ्नो राजीनामा पुस १६ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वीकृत गरेको भनि सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । जनमत पार्टीबाट नियुक्त पाएका महतो र साहले तीनजना मुख्यमन्त्रीसंग कार्य गर्ने अवसर पाए ।
जनमतका नेतासमेत रहेका तत्कालीन मुख्यमन्त्री सतीशकुमार सिंहको पालामा नियुक्ति पाएका थिए । त्यसपछि पूर्व मुख्यमन्त्रीहरु जितेन्द्र प्रसाद सोनल, सरोजकुमार यादवले करिब एक÷एक महिनासम्म प्रदेश सरकारको नेतृत्व गरेका थिए । साहलाई नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पटकपटक दबाब दिए पनि राजीनामा दिन आनाकानी गर्दै आएका थिए ।


