पर्सामा अवैध हुण्डी कारोबार विरुद्ध प्रहरीले सक्रियता बढाउँदै गएपछि लाखौँ रुपैयाँसहित तीनजनालाई पक्राउ गरिएको छ ।
सोही क्रममा विशेष सूचनाको आधारमा स्रोत नखुलेको १० लाख रुपैयाँ सहित पर्साको जगरनाथपुर क्षेत्रबाट स्रोत नखुलेको १० लाख रुपैयाँभन्दा बढी रकमसहित तीन जना हुण्डी कारोबारीलाई नियन्त्रणमा लिएको छ । अवैध रुपैयाँ सहित पक्राउ पर्नेहरूमा पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ४ स्थित देउरवानाका २२ वर्षीय पवन कुमार साह, ३० वर्षीय मुस्ताक अन्सारी र १९ वर्षीय रामपुकार पासवान रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साले जनाए अनुसार उनीहरूको साथबाट १० लाख २ हजार १० रुपैयाँ नगद बरामद गरिएको छ ।
यसका साथै उनीहरूले प्रयोग गरेका ना. १६ प ३०२० नम्बरको मोटरसाइकल पनि पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी टोलीले उनीहरूलाई शुक्रबार जगरनाथपुर गाउँपालिका–३ गडैयाटोल स्थित सडकखण्डबाट नियन्त्रणमा लिइएको जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले उक्त रकम अवैध हुण्डी कारोबारका लागि बोकेको खुलेको प्रहरीको भनाइ छ ।
बरामद रकमको स्रोत खुलाउन नसके पछि उनीहरूलाई नियन्त्रणमा लिइ थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पर्सा प्रहरीले पक्राउ परेका तीनै जनाविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ (क) अनुसार ‘हुण्डी सम्बन्धी कारोबार गर्न नहुने’ कसूरमा मुद्दा दर्ता गरेको छ । सोही कसुरमा पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिइ अनुसन्धान प्रक्रिया अघि बढाइएको पर्सा प्रहरीले जनाएको छ ।
पछिल्लो समय पर्सा जिल्लामा अवैध वित्तीय कारोबार, हुण्डी तथा गैरकानुनी रकम ओसारपसारका घटना बढ्दै गएपछि त्यसलाई नियन्त्रण गर्न विशेष निगरानी र चेकजाँच तीव्र बनाइएको प्रहरीले जनाएको छ । पर्सा प्रहरीले अवैध आर्थिक गतिविधिले देशको वित्तीय प्रणालीमा नकारात्मक असर पार्ने भएकाले यस्ता गतिविधिमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याइने स्पष्ट पारेको छ । यसका साथै आम नागरिकलाई अवैध कारोबारबाट टाढा रहन र यस्ता गतिविधिबारे सूचना भए प्रहरीलाई जानकारी गराउन आग्रह गरेको छ ।


