२०८२ पुष २२, मंगलवार ०७:५९

सामाजिक सञ्जाल टिकटकबाट शुरु भएको साम्प्रदायिक भिडियोको विषयलाई लिएर पर्साको वीरगञ्जमा सोमबार पनि तनावग्रस्त बनेको छ ।

धनुषाको कमला नगरपालिकास्थित सिंग्याही मडानमा केही दिनअघि दुई युवाले टिकटकमार्फत सार्वजनिक गरेको भिडियोले धार्मिक सहिष्णुतामा खलल पु¥याएको भन्दै उत्पन्न भएको विवादले उग्र रूप लिएको छ ।

धनुषा हुँदै पर्सासम्म फैलिएको साम्प्रदायिक विवादका कारण वीरगञ्जको घण्टाघर र आसपासका क्षेत्रमा युवाहरूले टायर बालेर प्रदर्शन गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज समेत गरेको थियो । उक्त घटनाको संवेदनशीलतालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले मधेश प्रदेशका आठै जिल्लामा सुरक्षा संयन्त्रलाई ‘हाई अलर्ट’ मा राखिएको छ ।

वीरगञ्ज महानगरपालिकाका मुख्य क्षेत्रमा आज साँझ ६ बजेदेखि भोलि बिहान ६ बजेसम्मका लागि जिल्ला प्रशासन कार्यालय पर्साले कफ्र्यु आदेश जारी गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी सूचनाअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (१ क) बमोजिम शान्ति सुरक्षा कायम गर्न कफ्र्यु जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा सोमबार साँझ ६ बजेदेखि मगंलबार बिहान ६ बजेसम्म वीरगञ्ज शहर क्षेत्रमा कुनै पनि प्रकारको भेला, सभा, जुलुस, प्रदर्शन तथा आवत– जावत गर्न निषेध गरिएको छ । प्रशासनले जारी गरेको कफ्र्यु क्षेत्र पूर्वः बाइपास रोड, पश्चिमः सिर्सिया पुल, उत्तरः पावर हाउस चोक र दक्षिण शंकराचार्य गेटसम्म रहेको छ ।

कफ्र्यु अवधिभर अत्यावश्यक सेवाबाहेक अन्य सवारी साधन, व्यक्ति तथा गतिविधि सञ्चालन गर्न नपाइने प्रशासनले स्पष्ट पारेको छ । स्वास्थ्य सेवा, एम्बुलेन्स, दमकल, सुरक्षा निकायलगायत अत्यावश्यक सेवाका साधनहरू भने अनुमति लिएर सञ्चालन गर्न सकिने जनाइएको छ । कफ्र्यु उल्लंघन गर्ने जो–कोहीलाई नियन्त्रणमा लिइ कानुन बमोजिम कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।

कफ्र्यु तथा निषेधाज्ञा जारी गरिए पनि त्यसको उल्लंघन गर्दै प्रदर्शन भएपछि वीरगञ्जका विभिन्न स्थानमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । सोमबार अलखिया चोक, लाठ गल्ली, मुर्ली चोक र छपकैया चोकलगायत क्षेत्रमा अवस्था तनावपूर्ण बनेको छ । प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुंगामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको छ ।

सो क्रममा एक युवक घाइते भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । यस्तै, मुर्ली चोकमा निषेधाज्ञा उल्लंघन गरी प्रदर्शन गर्न खोज्ने तीन जनालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदर्शनको दृश्य खिचिरहेको अवस्थामा स्थानीय पत्रकार श्रवण साहमाथि प्रदर्शनकारीहरूले आक्रमण गरेका छन् ।

आक्रमणका क्रममा पत्रकार साहको मोबाइलसमेत खोसिएको नेपाल पत्रकार महासंघ पर्सा शाखाले जनाएको छ । महासंघले दोषीलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्दै सञ्चारकर्मीहरूलाई पनि संयमता अपनाउन आग्रह गरेको छ । हिन्दु समुदायले जुलुस निकालेपछि र छपकैया क्षेत्रमा मुस्लिम समुदायको प्रदर्शनबाट उत्पन्न तनाव नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार दिउँसो १ बजेदेखि कफ्र्यु पनि जारी गरेको छ ।

छपकैया क्षेत्रस्थित ईदगाह चोकमा एक मोटरसाइकलमा आगजनी भएपछि अवस्था झनै तनावपूर्ण बनेको थियो । स्थानीय स्रोतका अनुसार उक्त घटनामा मुस्लिम समुदायका केही व्यक्तिहरू संलग्न रहेको बताइएको छ । शनिबार धनुषाको कमला नगरपालिकास्थित एक मस्जिदमा भएको तोडफोडको घटनापछि मुस्लिम समुदायले वीरगञ्जमा प्रदर्शन भएको छ ।

त्यसयता वीरगञ्जसहित मधेशका विभिन्न स्थानमा दुई समुदायबीच तनाव बढ्दै गएको छ । आइतबार मुस्लिम समुदायको प्रदर्शनपछि वीरगञ्जको अवस्था थप तनावपूर्ण बनेको थियो । स्थिति नियन्त्रणमा लिनका लागि प्रमुख जिल्ला अधिकारी, जनपथ प्रहरीका एसपी, सशस्त्र प्रहरीका एसपी तथा नेपाली सेनाको टोलीसमेत स्थलगत रूपमा खटिएको प्रशासनले जनाएको छ ।

पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठक स्वयं फिल्डमा उत्रिएर सुरक्षा व्यवस्थाको नेतृत्व गरिरहेका छन् । अवस्था तनावपूर्ण बनेपछि वीरगञ्जमा सुरक्षा निकायको बाक्लो परिचालन गरिएको छ । प्रशासनले सर्वसाधारणलाई अफवाहमा नलाग्न, शान्ति र संयमता कायम राख्न तथा सुरक्षाकर्मीलाई सहयोग गर्न पुनः आग्रह गरेको छ ।

Comment


Related News

Latest News

Trending News