जेन– जी आन्दोलनपछि भएको राजनीतिक परिवर्तनका कारण हुन लागेको प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा मधेश केन्द्रित दल जसपा नेपाल र लोसपा नेपालबीचको एकीकरण अन्तिम चरणमा पुगेको छ ।
विगतमा निर्वाचन सम्पन्न भएपछि विभिन्न असन्तुष्टिका कारण जसपा नेपालबाट छुट्टिएर लोसपा नेपाल गठन गरेका महन्थ ठाकुर उपेन्द्र यादव नेतृत्वको जसपा नेपालसंग एकता गरेको छ । सो एकता अहिले अन्तिम चरणमा रहेको छ । काठमाण्डुमा बसेको जसपा र लोसपाको बैठकबाट ३७ सदस्यीय कार्यकारिणी समिति गठन गर्ने निर्णय गरिएको तत्कालीन लोसपा नेपालका महासचिव परमेश्वर साहले जानकारी दिए ।
पूर्वप्रदेश सांसदसमेत रहेका नेता साहका अनुसार पार्टी एकताको लामो समय पछि पहिलो पटक जसपा नेपाल र लोसपा नेपालका शीर्षनेताहरुबीच भएको बैठकबाट पार्टीको नाम जसपा नेपाल नै टुंगो लागेको छ भने पार्टीको चुनाव चिह्न छाता नै रहने सहमति भएको छ । यता पार्टीको झण्डा, ३७ सदस्यीय कार्यकारिणी समिति, अन्य पदाधिकारी र र ाष्ट्रियसभा सदस्य निर्वाचनलगायतका विभिन्न एजेण्डासमेत छलफल जारी नै रहेको उनको भनाइ छ ।
एकीकरण भएपछि जसपा नेपालमा एकल अध्यक्ष रहने छ । अध्यक्षमा उपेन्द्र यादव नै रहने जनाइएको छ । त्यस्तै पार्टीको अभिभावकत्वको भूमिकामा महन्थ ठाकुर नै रहने सर्वसम्मत निर्णय भएको बताइएको छ । सोमबार रातिसम्ममा ३७ सदस्यीय कार्यकारिणी समिति, अन्य पदाधिकारीहरूको बारेमा टुंगो लगाइने नेता साहले बताए ।
यसअघि लोसपा नेपालसंग वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) र हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी (जप्रपा) बीच एकताबाट समाहित भएपछि महन्थ ठाकुरको कोटाबाट नै उनीहरुले पनि जसपा नेपालमा प्रतिनिधित्व पाउने उनले बताए । लोसपासंग समाहित भएका पार्टीको अस्तित्व समाप्त भएकाले अब जसपा नेपालले नै उनीहरुले प्रतिनिधित्व गर्ने उनको भनाइ छ ।
त्यस्तै उपेन्द्र यादव नेतृत्वको तत्कालीन जसपा नेपालमा समाहित भएका रेणु यादव नेतृत्वको समूहबारे समेत अध्यक्ष उपेन्द्र यादवले नै प्रतिनिधित्व गराउने गरी ३७ सदस्यीय कार्यकारिणीमा समेटिने बढी सम्भावना रहेको छ । पार्टी शीर्षनेतृत्वहरुको बैठकबाट नेताहरूको व्यवस्थापन र जिम्मेवारीको काम पनि कार्यदलले नै टुंगो लगाउने जसपा नेपालका एक नेताले बताए ।
यस कार्यदलले विभिन्न दलहरुबाट आएका नेता तथा विभिन्न पार्टीहरुलाई समेत व्यवस्थापन बारे ब्यापक रुपमा विचार विमर्श भइरहेको छ । त्यसैगरी यसै बैठकबाट राष्ट्रिय सभा निर्वाचनका लागि समेत निर्णय गर्ने एक नेताले जानकारी दिए । यस निर्वाचनमा राष्ट्रिय सभा सदस्यको उम्मेदवारीमा महन्थ ठाकुरको नाम समेत अघि सारिएको एक नेताले बताए ।


