धनुषाको कमला नगरपालिका वडा नम्बर ६ मा गत शनिबार १९ गते भएको मस्जिदमा तोडफोड एवम् मुस्लिम धर्मको धार्मिक ग्रन्थमा आगजनी घटनामा सोमबार सरोकारवलाहरुसंग छलफल भएको छ ।
जनकपुरधामस्थित जिल्ला प्रशासन कार्यालय धनुषामा प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले मुस्लिम र हिन्दू समुदायका अगुवाहरुसंग छलफल गरेका छन् । छलफल पश्चात सञ्चारकर्मीहरुसंग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी लुइटेलले कमला नगरपालिकाका घटेको घटनामा संलग्नहरु कानुन बमोजिम सजाय हुने जानकारी दिए । उनले सामाजिक सद्भाव, धार्मिक सहिष्ण्णुता, एकताको भावनामा कहिँ कसैबाट कानुन उलंघन हुने, द्वव्श फैलाउने, एक अर्काप्रति आक्षेप लगाउने जस्ता कार्यहरु गर्न नहुने बताए ।
यस्ता क्रियाकलाप गर्ने जुनसुकै पक्षका व्यक्तिलाई कानुनी दायरामा लिएर मुलुकी फौजदारी संहीयता बमोजिम कारवाही हुने उनले प्रष्ट पारे । प्रजिअ लुइटेलले प्रदेशभरमा सद्भाव कायम गर्न आक्रोसित समुदायलाई आग्रह गरे । उनले अहिले सम्म उक्त घटनामा ३ जना पक्राउ परेको र अन्य केही व्यक्ति फरार रहेकोले उनीहरुको खोजी कार्य भइरहेको जानकारी दिए ।
छलफलमा सहभागी धनुषाका एसपी रुगम बहादुर कुवरले यस्ता घटनालाई दिर्घकालिन रुपमा रोक लगाउन सरकारले सामाजिक सञ्जाललाई गम्भिर भएर अनुगमन र नियन्त्रण गर्नु पर्ने धारणा राखे । उनले सामाजिक सञ्जाललाई नियमन गर्न नसक्नुको कारण नै कमला नगरपालिकाको घटना घटनुको मुख्य कारण रहेको बताए ।
गत शनिबार धनुषाको कमला नगरपालिका ६ का मुस्लिम समुदायका केही युवाहरुले टिकटकमा हिन्दू समुदायलाई लक्ष्ति गर्दै भिडियो बनाएर पोस्ट गरेका थिए । सोही आक्रोसमा हिन्दू समुदायका केही युवाहरुले सोही वडामा रहेको मस्जिदमा तोडफोड गर्नुका साथै धार्मिक ग्रन्थ कुरानलगायतका किताबहरु जलाई दिएका थिए । सो पश्चात उक्त क्षेत्रमा तनाव सृजना भएको थियो ।
धनुषा प्रहरीले टिकटकमा भिडियो बनाएर अपलोड गर्ने दुई जना र मस्जिदमा तोडफोड गर्ने एकजनालाई अहिलेसम्म पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ ।


