आगामी फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै सर्लाही जिल्लामा कार्यालय प्रमुखहरूलाई जिल्ला नछाड्न र छाड्नुपर्दा अनिवार्यरूपमा प्रमुख जिल्ला अधिकारी ( सिडिओ) संग अनुमति लिन निर्देशन दिइएको छ ।
मलंगवामा सोमबार जिल्ला प्रशासन कार्यालय सर्लाहीमा प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाको अध्यक्षतामा बसेको बैठकमा जिल्लाका सम्पूर्ण सरकारी कार्यालयका प्रमुखहरूलाई यस प्रकारको निर्देशन दिइएको छ । उक्त बैठकमा निर्वाचनलाई लक्षित गरी जिल्लास्थित सरकारी कार्यालयमा उपलब्ध सवारी साधनलाई मर्मतसम्भार गरी चालकसहित दुरुस्त हालतमा राख्न र जिल्लाबाहिर सरकारी सवारी साधन पठाउँदा अनिवार्य रुपमा जिल्ला प्रशासन कार्यालयबाट पास लिन भनिएको छ ।
बैठकले प्रत्येक कार्यालयलाई आफू मातहतका कर्मचारीको विवरण एक हप्ताभित्र जिल्ला निर्वाचन कार्यालयमा पठाउन निर्देशन दिएको छ । चुनावमा कर्मचारीहरू खटाउनुपर्ने हुँदा प्रत्येक कार्यालयहरूबाट कर्मचारीको विवरण माग गरिएको छ । उक्त बैठकमा मतदानस्थलसम्म पुग्ने सडकहरु बिग्रिएको भए सम्बन्धित निकायले जतिसक्दो चाँडो मर्मत सम्भार गर्ने र विकास निर्माणको कार्यमा बाधा अवरोध आएमा जिल्ला प्रशासन कार्यालय सर्लाहीले बाधा फुकाउन प्रयत्न गर्ने निर्णय भएको जनाएको छ ।
उक्त बैठकमा सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे, नेपाली सेनाको कालिध्वज गणका प्रमुख सेनानी उमेश खड् का, सशस्त्र प्रहरी उपरीक्षक देवबहादुर चन्द, निमित्त जिल्ला प्रहरी प्रमुख डीएसपी सरोज राई, जिल्ला निर्वाचन अधिकारी ऋषिराम पौडेल, विभिन्न कार्यालयका प्रमुख, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलगायतको उपस्थिति रहेको थियो ।


