मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले मधेशवासीमा शान्ति, भाइचारा र सामाजिक एकताका लागि अपिल गरेका छन् ।
प्रदेश प्रमुख कर्णले सोमबार जारी गरेको विज्ञप्तिमा जारी गर्दै ‘मधेश विभिन्न भाषा, धर्म, संस्कृति र परम्पराहरूको सुन्दर संगम स्थल हो । परापूर्व कालदेखि हामीले एकअर्काको आस्था र अस्तित्वको सम्मान गर्दै ‘अतिथि देवो भवः’ र ‘वसुधैव कुटुम्बकम्’ को संस्कारलाई आत्मसात् गर्दै आएका छौं । तर, पछिल्ला केही दिनयता केही स्थानहरूमा देखा परेका अस्वाभाविक गतिविधि र असमझदारीले हाम्रो सदियौँ पुरानो सामाजिक एकता र भाइचारामा आँच पुर्याउन सक्ने अवस्था सिर्जना भएको प्रति म चिन्तित छु ।’ उल्लेख गरेका छन् ।
प्रदेश प्रमुख कर्णले नागरिकहरूलाई सचेत रहन र समाजमा उत्तेजना वा आवेगमा नआउने आग्रह गर्दै भने, ‘विचार र आस्था फरक हुन सक्छन् । तर हाम्रो मानवीय पहिचान र सामाजिक एकता एउटै हो । त्यसैले सामाजिक सञ्जाल वा अन्य माध्यमबाट कसैको भावनामा चोट पुग्ने कार्य नगर्न र शान्ति एवं अमनचयन कायम राख्न सबैले एकजुट हुन आवश्यक छ ।’ उनले संवाद र सहकार्य नै हरेक समस्याको समाधान रहेको बताए । उनले भने, ‘हामी सबै मिलेर प्रमाणित गरौं कि मधेश केवल विविधताको भूमि मात्र नभई यो अटुट एकता र प्रेमको भूमि पनि हो ।
शान्ति र सद् भाव नै हाम्रो पहिचान हो ।’ हाल केही स्थानीय तह र समुदायमा उत्पन्न विवाद र असमझदारीले सामाजिक समरसता र भाइचारामा चुनौती देखिएको छ ।



