पर्साको वीरगञ्जमा कर्फ्यू आज दिउँसो एक बजेसम्मका लागि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगर क्षेत्रमा हिजो बेलुकी ६ बजेदेखि आज बिहान ८ बजेसम्म कर्फ्यू लगाएकोमा त्यसलाई थप गरी आज दिउँसो एक बजे पुर्याएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिनभयो ।
यसअघि हिजो दिउँसो १ बजेदेखि लगाइएको निषेधाज्ञामा पनि विरोध प्रदर्शन भएपछि प्रशासनले बेलुकादेखि कर्फ्यू लगाएको हो । प्रमुख जिल्ला अधिकारी दाहालले सामाजिक सद्भाव कायम गर्न सबै पक्षसँग आग्रह गर्नुभएको छ । संघीय सरकार, मधेश प्रदेश सरकार, विभिन्न आयोग तथा संघसंस्थाले पनि सामाजिक सद्भाव विथोलिने खालका कार्यक्रम नगर्न आग्रह गरेका छन् ।
गृह मन्त्रालयले सामाजिक सञ्जालमार्फत द्वेषपूर्ण एवम् भ्रामक अभिव्यक्ति सार्वजनिक गरी सामाजिक सद्भाव र मर्यादामा आँच पुर्याउने गतिविधि नगर्न आग्रह गरेको छ । मन्त्रालयले हिजो विज्ञप्ति निकालेर सार्वजनिक शान्ति सुव्यवस्थामा खलल पुर्याउने किसिमका घटना नगर्न सचेत गराएको हो ।



