२०८२ पुष २२, मंगलवार १७:२७

रौतहट जिल्लामा धार्मिक, जातीय तथा सामाजिक सद्भाव कायम राख्न जिल्ला प्रशासन कार्यालयले सर्वपक्षीय बैठकपछि सार्वजनिक अपिल जारी गरेको छ। मंगलबार जिल्ला प्रशासन कार्यालयमा आयोजित सर्वपक्षीय बैठकको निष्कर्ष सार्वजनिक गर्दै प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले सबैलाई संयमता र सहिष्णुता अपनाउन आग्रह गरेका हुन्।

अपिलमा नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक भएको उल्लेख गर्दै विविधताबीच आपसी सम्मान, सहअस्तित्व र भाइचाराको संरक्षण गर्नु सबै नागरिकको साझा जिम्मेवारी भएको जनाइएको छ। पछिल्लो समय सामाजिक सञ्जालमार्फत भड्काउपूर्ण अभिव्यक्ति, अफवाह तथा उत्तेजक सामग्री फैलिँदै गएको भन्दै प्रशासनले यसप्रति गम्भीर चासो व्यक्त गरेको छ।

जिल्ला प्रशासनले टिकटक, फेसबुक, ह्वाट्सएपलगायत सामाजिक सञ्जालमा फैलाइने नकारात्मक तथा समाजमा द्वन्द्व निम्त्याउने सामग्रीमाथि कडा निगरानी गरिने स्पष्ट पारेको छ। सामाजिक एकता भंग गर्ने कुनै पनि गतिविधिमा संलग्न व्यक्ति वा समूहलाई कानुनअनुसार कडा कारबाही गरिने चेतावनी पनि दिइएको छ।

अपिलमार्फत राजनीतिक दल, जनप्रतिनिधि, स्थानीय तह, धार्मिक अगुवा, सामाजिक अभियन्ता, सञ्चारकर्मी, शिक्षक, विद्यार्थी, युवा, सुरक्षाकर्मी तथा आम नागरिकलाई आ–आफ्नो भूमिकाबाट शान्ति, सहिष्णुता र सद्भाव प्रवर्द्धन गर्न आग्रह गरिएको छ।

प्रमुख जिल्ला अधिकारी भुसालले ऐतिहासिक जिल्ला रौतहटलाई सामाजिक एकताको नमूना जिल्ला बनाउने अभियानमा सबै पक्षको सहकार्य अपरिहार्य रहेको बताए। प्रमुख जिल्ला अधिकारी भुषालको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकमा गौर नगरपालिकाका मेयर शम्भु साह, नेपाल प्रहरीका एसपी रबिन कार्की, सशस्त्र प्रहरीका एसपी रामहरी अधिकारी, नेपाली सेनाका कर्णेल विश्वास बिष्ट, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख कुमार बुढाथोकीलगायत

नेपाली कांग्रेस, नेकपा एमाले, अन्य कम्युनिस्ट दल, राप्रपा, जनमत पार्टी, मधेशवादी दल, आजपासहित विभिन्न राजनीतिक दलका प्रतिनिधि, मुस्लिम धर्मगुरु तथा नागरिक समाजका अगुवाहरूले प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै जिल्लामा शान्ति र सद्भाव कायम राख्ने प्रतिवद्धता जनाएका छन्।

Comment


Related News

Latest News

Trending News