सभामुखमा रामअशिष यादव नियुक्त भएपछि मधेश प्रदेशसभाको अवस्था र व्यवस्थाबारे जानकारी लिएका छन् ।
प्रभावकारी रुपमा सञ्चालनका लागि मधेश प्रदेशसभालाई व्यवस्थित बनाउनका लागि अलग अलग बैठक सम्पन्न गरी प्रदेशसभा सञ्चालनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्संगको समन्वयबारे समेत सभामुख यादवले छलफल गरेका छन् । सो सम्बन्धमा जनकपुरधाममा मंगलबार प्रदेशसभामा रहेका राजनीतिक दलहरुको सर्वदलीय बैठक डाकिएको थियो भने संसदीय समितिको समेत बैठकबाट विभिन्न निर्णय गरिएको जनाइएको छ ।
संसद्मा रहेका विभिन्न समितिका सभापतिहरुको बैठकबाट प्रदेशसभामा प्रत्यायोजित अधिकार अन्तर्गत बनाइएका नियम, कार्यविधि, निर्देशिका, मापदण्ड विनियम, परिपत्र, विधानको सिद्धान्त र मान्यता अनुरुप बनाइएकोबारे जानकारी लिएको सभामुख यादवले जानकारी दिए । सो बैठकबाट हाउसमा पारित भएका कानुनको कार्यान्वयनको अवस्थाबारे समेत सभामुख यादवले चासो लिए ।
उक्त बैठकबाट समितिले सरकारलाई दिएको निर्देशनको अवस्था, समितिको वार्षिक प्रतिवेदन पेशबारे, मन्त्रीहरुले प्रदेश सरकारको तर्फबाट बैठकमा समय समयमा दिएका आश्वासनको पालनाबारे, समितिको सदस्यको न्यून उपस्थितिबारे समेत गहन छलफल भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
त्यस्तै संसदीय समितिको बैठकमा प्रदेश सभा प्रति सरकारको उत्तरदायित्व र जवाफदेहीता अझ प्रभावकारी बनाउने, प्रदेश सभाको कार्य प्रभावकारी बनाउन प्रदेश सरकारका तर्फबाट आवश्यक नयाँ विधेयक निर्माण र संसोधन विधेयकको तयारी गरी प्रदेश सभामा पठाउन अर्थात पेश गर्न र प्रदेश सभालाई सुव्यवस्थित रुपमा सञ्चालन गर्न सुझाव र सहयोगको अपेक्षाबारे गम्भीर छलफल भएको छ ।
सभामुख यादवले प्रदेशसभालाई थप प्रभावकारी बनाउनका लागि र सदनमा प्रदेश सांसदलाई अनिवार्य उपस्थितिका लागि समेत संसदीय समितिमा बैठकमा छलफल भएको बताए ।



