२०८२ पुष २३, बुधबार ०८:४९

गत मंसीर २२ गते सिरहाको कर्जन्हा नगरपालिकामा १७ वर्षीया किशोरी अबिना बैधको हत्या प्रकरणमा धनुषाका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रेम प्रस्ताव, आपसी शंका र ईष्र्याले घटनाले भयावह मोड लिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । घटनामा संलग्न रहेको आरोपमा धनुषा जिल्लाको क्षिरेश्वर नगरपालिका–३ निवासी करिब ४५ वर्षीय राम बालक चौधरीलाई पक्राउ गरिएको हो । कर्जन्हा नगरपालिका–२ स्कुल टोलस्थित कमला सिँचाइ नहरबाट करिब १५–२० मिटर तल झाडीभित्र अबिनाको शव विभत्स अवस्थामा फेला परेको थियो ।

घटना हुनासाथ जिल्ला प्रहरी कार्यालय सिरहाबाट प्रहरी उपरीक्षक अनन्त राम शर्माको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटाइएको थियो । मृतकको शव पोष्टमार्टमका लागि वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको थियो । पोष्टमार्टम तथा प्रारम्भिक अनुसन्धानपछि मृतक कर्जन्हा नगरपालिका–१ बाल्टिया निवासी स्वर्गीय सूर्यदेव बैधकी १७ वर्षीया छोरी अबिना बैध रहेको पुष्टि भएको थियो । घटनाको अनुसन्धानको क्रममा चौधरी शंकास्पद देखिएपछि उनलाई नियन्त्रणमा लिई सोधपुछ सुरु गरिएको जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रहरी अनुसन्धान अनुसार गत मंसिर २१ गते राति पोर्ताहा क्षेत्रस्थित एक होटलमा मदिरा सेवन गरिरहेका चौधरी र मृतक किशोरीबीच पटक पटक मोबाइल फोन सम्पर्क भएको खुलेको छ । सोही राति करिब ८ः३० बजे दुबैबीच कुराकानी भई चौधरीले भेट्न बोलाएपछि अबिना बैध राति करिब ९ः१५ बजे उनको डेरा कोठामा पुगेकी थिइन् ।

त्यसपछि, दुबै जना कमला नदी किनार हुँदै विद्यालय अगाडि रहेको पोखरी नजिकको सुनसान स्थानमा पुगेका थिए । अनुसन्धानका क्रममा दुबैबीच सहमतिमै शारीरिक सम्बन्ध भएको खुलेको प्रहरीको दाबी छ । तर, विवाहको प्रस्ताव, आपसी अविश्वास र ईष्र्याका कारण उनीहरूबीच पहिलेदेखि नै विवाद हुँदै आएको र सोही विवादले घटनाको रात भयावह रूप लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । विवादका क्रममा आवेगमा आएर राम बालक चौधरीले किशोरीको घाँटी थिचेर हत्या गरेको प्रहरीको निष्कर्ष छ ।

प्रहरीका अनुसार घाँटी थिचेपछि ढुंगाले अनुहारमा प्रहार गर्दा किशोरी बेहोस भएकी थिइन् । त्यसपछि उनलाई नजिकैको झाडीमा तानेर लगी ढुंगाले अनुहार किची ज्यान लिएको र शव त्यहीँ छाडेर फरार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले घटनासम्बन्धी अन्य पाटो तथा सम्भावित थप संलग्नता भए÷नभएको विषयमा पनि अनुसन्धान जारी रहेको जानकारी दिएको छ ।

Comment


Related News

Latest News

Trending News