२०८२ पुष २३, बुधबार ०८:५४

नेपाली काँग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिमाथि पार्टीकै अर्का पक्षका नेता–कार्यकर्ताले दुव्र्यवहार गरेको घटनाको विरोधमा निधि पक्षधर नेता कार्यकर्ताहरुले जनकपुरधाममा विरोध प्रदर्शन गरेका छन् ।

टायर बालेर जनकपुरधामका विभिन्न स्थनमा गरिएको सो विरोध प्रदर्शनले जनकपुरधाममा तनावपूर्ण अवस्था सिर्जना भएको छ । निधि पक्षका कार्यकर्ताले टायर बालेर प्रदर्शन गर्दै पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माविरुद्ध नाराबाजी समेत गरेका छन् ।

पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको पक्षका नेता–कार्यकर्ताले निधिमाथि दुव्र्यवहार गरेको आरोप लगाउँदै त्यसको विरोधमा विमलेन्द्र निधि पक्षका कार्यकर्ताहरू सडकमा उत्रिएका हुन् । प्रदर्शनकारीहरूले पार्टीभित्र अनुशासनहीन गतिविधि बढ्दै गएको, वरिष्ठ नेतामाथि असहिष्णु व्यवहार गरिएको र नेतृत्वले यस विषयमा स्पष्ट धारणा नलिएको आरोप लगाएका छन् ।

उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न पार्टी नेतृत्वसँग माग गरेका छन् । प्रदर्शनका कारण केही समय जनकपुरधामको आवागमन प्रभावित भएको थियो । स्थिति नियन्त्रणमा राख्न सुरक्षाकर्मी परिचालन गरिएको छ भने हाल अवस्था सामान्य बन्दै गएको जनाइएको छ । उक्त घटनाबारे नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व तथा सम्बन्धित पक्षबाट औपचारिक प्रतिक्रिया आउन बाँकी रहेको छ।

पार्टीभित्र देखिएको आन्तरिक विवादले आगामी दिनमा संगठनात्मक एकतामा असर पार्न सक्ने चिन्ता कार्यकर्ताहरूले व्यक्त गरेका छन् ।

Comment


Related News

Latest News

Trending News