सामाजिक सञ्जालमा अमर्यादित पोस्ट गर्ने ५९९ प्रहरी कारबाहीमा परेका छन् ।
नेपाल प्रहरीको सामाजिक सञ्जाल प्रयोगसम्बन्धी नीतिविपरीत गैरव्यावसायिक एवं अमर्यादित सामग्री पोस्ट गर्ने ५९९ जना प्रहरी कर्मचारीलाई विभागीय कारबाही गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष ०७७/०७८ देखि हालसम्म फेसबुक, एक्स, टिकटकलगायतका विभिन्न सामाजिक सञ्जालमा संगठनविरुद्ध अमर्यादित टिप्पणी गर्ने, प्रहरी पोसाक दुरुपयोग गर्ने कारबाहीमा परेका छन् । यसरी कारबाही भोग्नेमा प्रहरी नायब महानिरीक्षकदेखि प्रहरी कार्यालय सहयोगीसम्म छन् ।
कारबाही पर्नेहरूमा प्रहरी नायब महानिरीक्षक एक जना, प्रहरी वरिष्ठ उपरीक्षक १, प्रहरी उपरीक्षक ४, प्रहरी नायब उपरीक्षक ५ जना रहेका छन् ।
यस्तै, प्रहरी वरिष्ठ नायब निरीक्षक ११, प्रहरी नायब निरीक्षक २४, प्रहरी सहायक निरीक्षक ५१, प्रहरी वरिष्ठ हवल्दार ७ र प्रहरी हवल्दार ३५ जनाले पनि विभागीय कारबाही भोगेका छन् ।
प्रहरीका अनुसार सहायक हवल्दार ७६ जना, प्रहरी जवान ३५८ जना र प्रहरी कार्यालय सहयोगी २ जना रहेका छन् ।
उनीहरूलाई संगठनको नीतिविपरीत कार्य गरेकामा चेतावनीसहित बढुवा रोक्कासम्मको कारबाही गरिएको बताइएको छ ।


