रौतहटका विभिन्न स्थानमा एकैदिन छाडा कुकुरको टोकाइबाट ५० जनाभन्दा बढी सर्वसाधारण घाइते भएका छन्।
जिल्लाका विभिन्न पालिकाहरूमा बुधबार बिहानैदेखि कुकुरले एक्कासि मानिसहरूलाई आक्रमण गर्न थालेपछि स्थानीय बासिन्दाहरूमा त्रास फैलिएको छ।
गढीमाईको वडा नं. १, ४, ६ र ८ का साथै फतुवा विजयपुर नगरपालिका र राजपुर नगरपालिकाका केही गाउँका बासिन्दाहरू कुकुरको निशानामा परेका छन्। घाइतेहरूलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर पुर्याइएको छ। अस्पतालका सूचना अधिकारी कपिलदेव झाका अनुसार हालसम्म २७ जनाभन्दा बढी घाइतेलाई रेबिजविरुद्धको खोप लगाइसकिएको छ।
कुकुरको आक्रमण बढेपछि रौतहटका यी क्षेत्रहरूमा त्रास फैलिएको छ। छाडा कुकुरको डरले गर्दा बालबालिकालाई विद्यालय पठाउन र वृद्धवृद्धालाई घरबाहिर निस्कन समेत मुस्किल भएको स्थानीयको गुनासो छ। बिहान–बेलुकाको समयमा आवतजावत गर्न अत्यन्तै जोखिमपूर्ण बनेको भन्दै स्थानीयले छाडा कुकुर नियन्त्रणका लागि सम्बन्धित निकायसँग माग गरेका छन्।



