२०८२ पुष २४, बिहीबार ०८:०९

राष्ट्रिय सभाको निर्वाचनका लागि बुधबार सात वटै प्रदेशबाट ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

सातै प्रदेशमा शान्तिपूर्ण रुपमा उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जनाएका छन् । सात वटै प्रदेशबाट विभिन्न दलका गरी ४४ जनाले उम्मेदवारी दर्ता गराएको उनले बताए ।

कोशी प्रदेशबाट ५, मधेश प्रदेशबाट ११, बागमती प्रदेशबाट ६ र गण्डकी प्रदेशबाट ६ जनाले उम्मेदवारी दिएका छन् । त्यसैगरी, लुम्बिनी प्रदेशबाट ८, कर्णाली प्रदेशबाट ४ र सुदूरपश्चिम प्रदेशबाट ४ जनाले उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले यही पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकेको छ । त्यसपछि पुस २५ र २६ गते मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गर्नेछ । त्यही दिन उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।

त्यसपछि पुस २७ गते उम्मेदवारी फिर्ता लिनका लागि समय तोकिएको छ । पुस २७ गतेको साँझ उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ भने पुस २८ गते चुनाव चिह्न प्रदान गरिने आयोगले जनाएको छ । त्यसपछि माघ ११ गते मतदान हुनेछ ।

राष्ट्रियसभा निर्वाचनका लागि मधेश प्रदेशबाट ११ जनाले उम्मेदवारी दिएका छन् ।

मधेश प्रदेशमा ४ सिटका लागि कांग्रेस–एमाले गठबन्धन, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), लोसपा नेपाल– जसपा नेपालबाट ११ जनाले बुधबार उम्मेदवारी दर्ता गराएका छन् ।

लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले अन्यतर्फ उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष ठाकुरको उम्मेदवारीमा लोसपा नेपालका मधेश प्रदेशसभा सदस्य जयनुल राइन प्रस्तावक र मधेश प्रदेशकी शिक्षा तथा संस्कृति मन्त्रीसमेत रहेकी सांसद रानी कुमारी तिवारी समर्थक रहेकी छन् । ठाकुरको उम्मेदवारीमा जसपा नेपालले पनि समर्थन जनाएको छ ।

मधेश प्रदेशमा लोसपा नेपाल र जसपा नेपालले राष्ट्रियसभा निर्वाचनका लागि छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएपछि नेपाली कांग्रेस, नेकपा एमाले र एकता प्रक्रियामा रहेको लोसपा र जसपाभित्र पनि विभिन्न खाले आशंका गर्न थालिएको छ ।

मधेश प्रदेशमा कांग्रेस, एमाले र जसपा नेपालको समर्थनमा लोसपाका अध्यक्ष महन्थ ठाकुरले उम्मेदवारी दर्ता गराएका छन् । तर जसपा नेपालले भने बाँकी तीन सीटमा छुट्टै उम्मेदवारी दर्ता गराएपछि कांग्रेस–एमालेसहितका गठबन्धनभित्र पनि आशंका उत्पन्न हुन थालेको छ ।

लोसपा नेपालका तर्फबाट ठाकुरले अन्य क्लस्टरमा उम्मेदवारी दर्ता गराउँदा जसपा नेपालले भने सो बाहेक तीन वटा क्लस्टरमा छुट्टै उम्मेदवारी दर्ता गराएको छ ।

जसपा नेपालका नेता जितेन्द्र प्रसाद यादवले कांग्रेस र एमालेसंग गठबन्धनको लागि मधेशमा २ सीट मागे पनि नदिएपछि बाँकी सिटमा छुट्टै उम्मेदवारी दिएको जानकारी दिए ।

लोसपाका एकजना नेताले जनाए अनुसार अध्यक्ष ठाकुरको प्रस्तावक र समर्थकमा लोसपाबाट हुनु गम्भीर संशय रहेको बताए । ठाकुरको समर्थक वा प्रस्तावकमध्ये कुनैमा पनि जसपा नेपालबाट हस्ताक्षर नहुनु दुःखद रहेको उनको कथन थियो ।

स्रोतका अनुसार जसपा र लोसपाबीचको एकतालाई ठाकुरले नै भाँडेको बुझाईमा रहेका जसपा नेपालका नेताहरुले ठाकुरसित वार्गेनिंगका लागि तीनवटा सिटमा उम्मेदवारी दिएको छ ।

पुस १३ गते लोसपा र जसपा नेपालबीच एकीकरण गर्ने घोषणा भए पनि त्यसको अर्कोदिन प्रतिनिधिसभाको चुनावका लागि दुवै पार्टीले निर्वाचन आयोगमा छुट्टाछुट्टै समानुपातिक उम्मेदवारको बन्दसूची पेश गरेका थिए ।

मधेश प्रदेशमा जसपा नेपालबाट राष्ट्रियसभा सदस्यका लागि तीन जनाको उम्मेदवारी पनि दर्ता भएको छ ।

जसपा नेपालबाट अल्पसंख्यकतर्फ शैलेश चौधरी, महिलातर्फ चन्दा साह र दलिततर्फ चमेली देवी दासले उम्मेदवारी दिएकी छन् । जसपा नेपालबाट उम्मेदवारी दिनेमा चौधरी सप्तरीका हुन् भने साह सिरहा र दास धनुषाकी छन् ।

नेपाली कम्युनिस्ट पार्टी(नेकपा) बाट दलित कोटामा शम्भु पासवान, अल्पसंख्यकतर्फको कोटामा रामनन्दन प्रसाद, अन्यबाट लक्ष्मण पौडेल र मधेशी कोटाबाट समी कुमारी अग्रवालले उम्मेदवारी दर्ता गराएकी छन् ।

त्यसैगरी कांग्रेस–एमाले गठबन्धनबाट दलित कोटामा कांग्रेसका अमरेन्द्र पासवान, अल्पसंख्यक कोटामा रञ्जित कर्ण र महिला कोटामा एमालेकी रेखा झाले उम्मेदवारी दर्ता गराएकी छन् ।

गठबन्धनबाट कांग्रेसले २ र एमालेले एक सिटमा उम्मेदवारी दर्ता गराए पनि जसपा नेपालले भने तीन वटै पदमा उम्मेदवारी दर्ता गराएको छ ।

मधेश प्रदेशमा मतदाताहरु मध्ये १ सय ७ जना प्रदेश सभा सदस्य मध्ये १ सय ४ जनाले मतदान गर्ने छन् ।३ जना निलम्बनमा रहेका छन् ।प्रति प्रदेश सभासदस्यको मतभार ५३ रहेको छ । २ सय ६६ जना पालिका प्रमुख र उपप्रमुख रहेका छन् । मतभार प्रति पदाधिकारी १९ रहेको छ ।

Comment


Related News